भरतपुर – चितवन उद्योग संघको ३५औँ वार्षिक साधारणसभाको उद्घाटन नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवम् चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य सोविता गौतमले गर्ने भएकी छन्। संघका अनुसार साधारणसभा असोज २६ गते सोमबार बिहान ११ बजे आयोजना हुँदैछ।
संघले तीनै तहका सरकार तथा सरोकारवाला निकायसँग निरन्तर समन्वय गर्दै स्वदेशी उद्योगको प्रवर्द्धन, लगानीमैत्री नीति तथा कानून निर्माणका लागि पैरवी र उद्योगी व्यवसायीको हकहित संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको जनाएको छ।
३५औँ वार्षिक साधारणसभामा संघको १८औँ कार्यसमितिले आफ्नो कार्यकालमा गरेका औद्योगिक प्रवर्द्धन, नीति पैरवी तथा उद्योगी व्यवसायीका पक्षमा गरेका गतिविधिको समीक्षा गरिनेछ। साथै, आगामी कार्यदिशा र औद्योगिक विकासका लागि आवश्यक रणनीतिक योजनामाथि छलफल गरी निर्णय गरिने संघले जनाएको छ।
देशको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि औद्योगिक विकास अपरिहार्य भए पनि उद्योग स्थापनादेखि सञ्चालनसम्म देखिएका नीतिगत तथा कानूनी जटिलता अझै चुनौतीका रूपमा रहेका छन्। कानूनमन्त्री गौतमको प्रमुख आतिथ्यतामा हुन लागेको साधारणसभालाई उद्योगीहरूले नीतिगत स्पष्टता र कानूनी सुधारका विषय सरकारसमक्ष राख्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।
साधारणसभामा औद्योगिक व्यवसाय ऐनअन्तर्गतको एकल विन्दु सेवा केन्द्रको पूर्ण कार्यान्वयन, उद्योग स्थापनाका लागि जग्गा प्राप्ति तथा हदबन्दीसम्बन्धी कानूनी जटिलताको समाधान र सरकारी निकायमा स्वदेशी वस्तु तथा सेवाको खरिदलाई प्राथमिकता दिने कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनलगायत विषयमा घनीभूत छलफल हुने बताइएको छ।
त्यसैगरी, तीन तहका सरकारबीच देखिँदै आएको दोहोरो कर प्रणाली, क्षेत्राधिकारसम्बन्धी अन्योल तथा लगानी सुरक्षाका विषय समाधान गर्न आवश्यक नीतिगत तथा कानूनी सुधारका लागि सरकारको ध्यानाकर्षण गराइने संघले जनाएको छ।
चितवनलाई देशकै प्रमुख आर्थिक तथा औद्योगिक हबका रूपमा विकास गर्न आवश्यक रणनीतिक योजनासमेत साधारणसभाबाट तय गरी सरकारसमक्ष ठोस रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ।
संघका अनुसार साधारणसभाले उद्योगी व्यवसायीका वर्तमान समस्या समाधानसँगै लगानी विस्तार, रोजगारी सिर्जना, स्वदेशी उत्पादनको प्रवर्द्धन र औद्योगिक वातावरण सुधारका लागि आगामी कार्यदिशा तय गर्नेछ।


