अस्ट्रेलिया – आगामी मार्चमा एडिलेडमा आयोजना हुने सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिट (ओएनएसएम)साउथ अष्ट्रेलिया २०२७ को तयारीबारे तीब्र गतिमा अगाडि बढेको छ । तयारी सम्बन्धमा जानकारी दिन आयोजित प्रेस मिटमा प्रतियोगिताको तयारीका लागि हालसम्म १७० भन्दा बढी स्वयंसेवक विभिन्न उपसमितिमा रहेर काम गरिरहेका र खेलाडी दर्ता प्रक्रिया पनि सुरु जानकारी दिईएको छ ।
सन् २०२७ को मार्च २५ देखि २८ तारिखसम्म एडिलेडमा आयोजना हुने चारदिने प्रतियोगितामा अस्ट्रेलियाका विभिन्न राज्य, न्युजिल्यान्डका नेपालीमुलका खेलाडी, पदाधिकारी, समर्थक र समुदायका सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।मिट सम्पन गर्नका लागि साउथ अष्ट्रेलियामा रहेका नेपाली सामुदायिक तथा खेल संस्थाहरुले ऐक्यबद्धता समेत जाहेर गरेका छन् ।
प्रतियोगितामा क्रिकेट, जुनियर क्रिकेट, फुटबल , बास्केटबल, भलिबल, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, स्विमिङ तथा ट्र्याक एन्ड फिल्ड गरी १o खेल विधा समावेश गरिएका छन्।
प्रेस मिटमा साउथ अस्ट्रेलियामा रहेका सामुदायिक अगुवा, विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, खेलाडी, प्रायोजक तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। त्यस्तै, अस्ट्रेलियाका विभिन्न राज्यबाट नेपाली पत्रकार तथा सञ्चारकर्मीहरू अनलाइनमार्फत कार्यक्रममा जोडिएका थिए।
प्रेस मिटमार्फत आयोजकले प्रतियोगिताको तयारी, खेल सञ्चालन, स्वयंसेवक परिचालन, खेलाडी दर्ता, प्रायोजन तथा चार दिनसम्म सञ्चालन हुने विभिन्न गतिविधिबारे जानकारी दिएको थियो। प्रतियोगिताको व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको र ती उपसमितिमार्फत १७० भन्दा बढी स्वयंसेवक तयारीमा खटिएको आयोजकले जनाएको छ।
यसैबीच प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको दर्ता प्रक्रिया प्रेस मिटको अघिल्लो दिनदेखि औपचारिक रूपमा सुरु गरिएको जानकारी दिइएको छ।सातौँ ओएनएसएमका लागि आयोजकले कोआलालाई प्रतियोगिताको मस्कटका रूपमा सार्वजनिक गरेको छ। अस्ट्रेलियाको पहिचानसँग जोडिएको कोआलालाई यसपटकको प्रतियोगिताको मस्कटका रूपमा अघि सारिएको हो।
श्रीजा कडेलको संचालनमा शुरु कार्यक्रमको सुरुवातमा ओएनएसएम एसए २०२७ का सह–संयोजक सन्तोष अधिकारीले स्वागत मन्तव्य राख्दै उपस्थित सामुदायिक अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलाडी, प्रायोजक तथा सञ्चारकर्मीलाई स्वागत गरेका थिए। उनले सातौँ ओएनएसएमको तयारी र उद्देश्यबारे संक्षिप्त जानकारी दिँदै कार्यक्रम सफल बनाउन समुदायबाट प्राप्त भइरहेको साथ र सहकार्यप्रति धन्यवाद व्यक्त गरे।
मिटको मुख्य स्पोन्सर समेत रहेको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज एडिलेडका निर्देशक रूपक बर्तौलाले समुदायबाट प्राप्त साथ र विश्वासलाई समुदायमै फर्काउने `गिभिङ ब्याक टु कम्युनिटी’ अवधारणाअनुसार ओएनएसएमलाई प्रायोजन गरिएको बताए। नेपाली समुदायलाई खेलकुदमार्फत जोड्ने ठूलो कार्यक्रममा सहकार्य गर्न पाउनु महत्वपूर्ण रहेको उनको भनाइ थियो।
‘यो खेल मात्र होइन, नेपाली समुदायको उत्सव हो’ — विजय जोशी
ओएनएसएम एसए २०२७ का अध्यक्ष विजय जोशीले सातौँ संस्करणलाई केवल खेलकुद प्रतियोगिताका रूपमा मात्र नभई नेपाली समुदायको साझा उत्सवका रूपमा लिन आग्रह गरेका छन्।
जोशीले प्रतियोगिताको तयारी, हालसम्म भएका काम, विभिन्न उपसमितिको भूमिका तथा आगामी योजनाबारे जानकारी गराएका थिए।
प्रतियोगिताको तयारीका लागि स्वयंसेवक, विभिन्न उपसमिति, प्रायोजक, सहयोगी संघसंस्था तथा समुदायप्रति धन्यवाद व्यक्त गर्दै उनले सबैको सामूहिक प्रयासबाट ओएनएसएमलाई सफल बनाउन सकिने विश्वास व्यक्त गरे। उनले साउथ अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई प्रतियोगितामा सहभागी भएर यसलाई साझा उत्सवका रूपमा मनाउन आग्रहसमेत गरे।
‘नेपाल मेरो दोस्रो घर’ — क्याट्रिना वेब
सातौँ ओएनएसएमकी इभेन्ट एम्बासडर तथा अस्ट्रेलियाकी चर्चित प्यारालिम्पियन क्याट्रिना वेब ओएएमले आफूलाई यस किसिमको सामुदायिक खेलकुद कार्यक्रममा जोड्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिँदै नेपाललाई आफ्नो ‘दोस्रो घर’का रूपमा उल्लेख गरिन्।
सन् २०११ देखि नेपाल जान थालेकी वेब आगामी अक्टोबरमा १८औँ पटक नेपाल भ्रमणमा जाने तयारीमा रहेको जानकारी कार्यक्रममा दिइयो। नेपाल र नेपाली समुदायसँग लामो समयदेखि जोडिएकी वेबले खेलकुदमार्फत समुदायलाई जोड्ने ओएनएसएमको अभियानसँग आफू जोडिन पाएकोमा खुसी व्यक्त गरिन्।
कार्यक्रममा पत्रकार तथा समुदायका अगुवाहरुबाट विभिन्न प्रश्नहरु गरिएको थियो । आयोजकका अनुसार खेल सकिएपछि हरेक साँझ ओलम्पिक हाउसमा विभिन्न कार्यक्रम आयोजना गरिनेछन्। ओसियानाका विभिन्न स्थानबाट ठूलो संख्यामा खेलाडी, पदाधिकारी, परिवार तथा समर्थक एडिलेड आउने भएकाले प्रतियोगिताले स्थानीय होटल, यातायात, खानपान, पर्यटन तथा अन्य व्यवसायिक क्षेत्रमा समेत आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ। आयोजकले प्रतियोगितासँग जोडिएको प्रत्यक्ष आर्थिक योगदान दुई लाख अस्ट्रेलियन डलरभन्दा बढी हुन सक्ने अनुमान प्रस्तुत गरेको छ।
यससँगै ओसियाना स्तरको यति ठूलो खेलकुद तथा सामुदायिक कार्यक्रमलाई सफल बनाउन साउथ अस्ट्रेलिया सरकार, स्थानीय निकाय, खेलकुदसम्बन्धी निकाय, व्यवसायिक क्षेत्र र नेपाली समुदायबीचको सहकार्य महत्वपूर्ण रहने विषय पनि प्रेस मिटमा उठाइएको थियो। आर्थिक सहयोगसँगै खेल मैदान, पूर्वाधार, लजिस्टिक तथा कार्यक्रम व्यवस्थापनमा राज्य सरकार र स्थानीय निकायको सहभागिता र सहकार्यको आवश्यकताबारे समेत चर्चा भएको थियो।
सन् २०१३ बाट सुरु भएको ओसियाना नेपाली स्पोर्ट्स मिट हरेक दुई वर्षमा आयोजना हुँदै आएको छ। सातौँ संस्करण पहिलो पटक दक्षिण अस्ट्रेलियामा आयोजना हुन लागेकाले यहाँको नेपाली समुदायले यसलाई विशेष महत्वका साथ तयारी गरिरहेको छ। `युनाइटेड बाइ हेरिटेज, इन्स्पायर्ड बाइ स्पोर्ट’ भन्ने मूल भावनासहित आयोजना हुन लागेको हो ।


