हिउँ छिचोल्दै डोल्पाबाट मुस्ताङ आइपुगे भेडाच्याङ्ग्रा

एटुजेड समाचार

मुस्ताङ। बडादसैँ नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ। यसै क्रममा माथिल्लो डोल्पाबाट खरिद गरिएका भेडाच्याङ्ग्राका बथान मुस्ताङको जोमसोम आइपुग्न थालेका छन्।

उपल्लो मुस्ताङका भेडाच्याङ्ग्रा भने शनिबारसम्म जोमसोम आइपुग्ने जनाइएको छ। आफ्ना पाँच जना सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा शनिबार साँझ जोमसोम ल्याइपुर्‍याइएको डोल्पाका व्यापारी शेरबहादुर रोकायाले जानकारी दिए।

डोल्पाबाट जोमसोम आइपुग्न रोकायाको टोलीलाई एक साताभन्दा बढी समय लागेको छ। विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका रोकायाले यसपटक बाटोमा जमेको बाक्लो हिउँ छिचोल्दै जोखिमपूर्ण यात्रा गरेर च्याङ्ग्रा जोमसोम ल्याएको बताए।

डोल्पोबुद्ध गाउँपालिकाबाट असोज ९ गते जोमसोमतर्फ प्रस्थान गरेको रोकायाको टोली असोज १७ गते साँझ जोमसोम आइपुगेको हो। हाल ती भेडाच्याङ्ग्रालाई जोमसोमस्थित घरपझोङ गाउँपालिकाको सार्वजनिक मैदानमा राखिएको छ।

रोकायाका अनुसार डोल्पाबाट मुस्ताङ आउने बाटोमा सेताम्मे हिउँ जमेको थियो। भारी वर्षा र हिमपातका कारण मुस्ताङ–डोल्पा जोड्ने पदमार्गमा यात्रा गर्न निकै सास्ती भएको उनले सुनाए।

माथिल्लो डोल्पाका डोल्पोबुद्ध, शे-फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाका किसानहरूबाट च्याङ्ग्रा खरिद गरी जोमसोम ल्याइएको हो। नेपाल–चीन सीमा क्षेत्रमा लाग्ने परम्परागत ‘चोङ्ग्रा मेला’ बन्द भएकाले यसपटक डोल्पामै पुगेर च्याङ्ग्रा खरिद गर्नुपरेको व्यापारीहरूको भनाइ छ।

यस वर्ष डोल्पाबाट करिब आठ हजारको संख्यामा भेडाच्याङ्ग्रा जोमसोम ल्याउने तयारी भइरहेको छ। सेताम्मे हिउँ, अत्यधिक चिसो र जोखिमपूर्ण बाटो पार गर्दै रोकायासहितको टोली जोमसोम आइपुगेको हो। गत वर्षको दसैँमा व्यापारमा केही घाटा व्यहोर्नुपरे तापनि यसपटक च्याङ्ग्रामा ठूलो लगानी गरिएको रोकायाले बताए।

व्यापारी रोकायाका अनुसार गत वर्षको तुलनामा यस वर्ष डोल्पाबाट कम संख्यामा च्याङ्ग्रा जोमसोम झारिँदै छ। गत वर्ष ११ हजारभन्दा बढी च्याङ्ग्रा डोल्पाबाट मुस्ताङ ल्याइएको थियो।

अविरल बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भएमा च्याङ्ग्रा पोखरासम्म पुर्‍याउन थप सास्ती हुने चिन्ता व्यापारीहरूमा छ। “हाम्रो सबै लगानी च्याङ्ग्रामै छ। दसैँको बेला डोल्पा फर्कने बाटो पनि सरकारले समयमै सहज बनाइदिए धेरै राहत हुने थियो,” रोकायाले भने।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु