मानव जीवनको विभिन्न आधारभूत आवश्यकता र अधिकारसँग जोडिएको मध्येको एक महत्त्वपूर्ण विषय हो—‘स्वास्थ्य’ । व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक अवस्थादेखि परिवार, समाज, अर्थतन्त्र, उत्पादनशीलता र समग्र राष्ट्रको विकाससम्म स्वास्थ्यको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध रहने गर्दछ । त्यसैले पनि स्वास्थ्यसम्बन्धी सूचना सामान्य सूचना मात्र होइन । यसले मानिसको जीवन, स्वास्थ्य व्यवहार र निर्णय प्रक्रियालाई प्रभावित गर्न सक्ने संवेदनशील सार्वजनिक सरोकारको विषय समेत हो । यही कारण स्वास्थ्यसम्बन्धी सूचना कसरी उत्पादन, परीक्षण, व्याख्या र सम्प्रेषण गरिन्छ भन्ने प्रश्न आजको पत्रकारिता क्षेत्रमा झन् गहन र महत्त्वपूर्ण बन्दै गएको छ ।
‘स्वास्थ्य’ मानव जीवनसँग प्रत्यक्ष जोडिएको सबैभन्दा संवेदनशील विषयमध्ये एक हो । व्यक्तिको स्वास्थ्य केवल उसको व्यक्तिगत विषय मात्र होइन; यसको प्रत्यक्ष सम्बन्ध परिवार, समुदाय, समाज हुँदै समग्र राष्ट्रसँग जोडिएको हुन्छ । कुनै संक्रामक रोग वा महामारीले सीमाना नाघेर विश्वव्यापी प्रभाव पार्न सक्ने भएकाले स्वास्थ्य क्षेत्रको महत्व अझ व्यापक छ । स्वस्थ नागरिकबिना स्वस्थ समाज र समुन्नत राष्ट्रको परिकल्पना गर्न सकिँदैन । त्यसैले स्वास्थ्यसँग सम्बन्धित सूचना, नीति, सेवा, उपचार र जनचेतनालाई सही, विश्वसनीय र जिम्मेवार ढंगले नागरिकसमक्ष पुर्याउनु अत्यन्त आवश्यक हुन्छ । यही आवश्यकतालाई पूरा गर्ने महत्वपूर्ण माध्यम हो—स्वास्थ्य पत्रकारिता ।
को हुन् स्वास्थ्य पत्रकार ?
स्वास्थ्य, चिकित्सा, जनस्वास्थ्य, रोग, उपचार, औषधि, स्वास्थ्य नीति तथा नागरिकको स्वास्थ्य अधिकारसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान र विश्लेषण गरी सत्य, तथ्यपरक र उपयोगी सूचना जनसमक्ष पुर्याउने पत्रकारलाई सामान्य अर्थमा स्वास्थ्य पत्रकार भन्न सकिन्छ ।
स्वास्थ्य पत्रकारको जिम्मेवारी केवल स्वास्थ्यसम्बन्धी समाचार लेख्नुमा सीमित हुँदैन । उनीहरूले स्वास्थ्य सेवामा नागरिकको पहुँच, स्वास्थ्य संस्थाको अवस्था, सरकारी नीति तथा कार्यक्रम, औषधिको उपलब्धता र प्रयोग, रोगको रोकथाम, स्वास्थ्य सेवाको गुणस्तर तथा नागरिकका स्वास्थ्य अधिकारजस्ता विषयमा प्रश्न उठाउने, सूचना खोज्ने र सम्बन्धित पक्षलाई जवाफदेही बनाउन सहयोग गर्ने भूमिका निर्वाह गर्छन् ।
आजको युग अनि विश्वसनीय र गलत सूचनाबीचको भिन्नता
आजको यस युगमा सूचना प्रविधिको तीव्र विकाससँगै नागरिकले स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्ने माध्यम र स्रोतहरूमा व्यापक विस्तार भएको छ । परम्परागत पत्रपत्रिका, रेडियो र टेलिभिजनसँगै वेबसाइट, सामाजिक सञ्जाल, भिडियो प्लेटफर्म, ब्लग तथा विभिन्न डिजिटल माध्यमहरू स्वास्थ्य सूचनाका महत्त्वपूर्ण स्रोत बनेका छन् । जसले गर्दा एकातर्फ स्वास्थ्यसम्बन्धी ज्ञान र स्रोतमा पहुँच बढाएको छ भने अर्कोतर्फ अपुष्ट दाबी, भ्रामक सूचना, अतिरञ्जित उपचारका प्रचार र ‘चमत्कारी उपचार’ जस्ता सामग्री पनि तीव्र गतिमा फैलिने अवस्था सिर्जना गरेको छ । यस्तो परिवेशमा स्वास्थ्य पत्रकारिताको भूमिका समाचार प्रकाशनमा मात्र सीमित नरही विश्वसनीय सूचना र गलत सूचनाबीचको भिन्नता छुट्याउने सार्वजनिक जिम्मेवारी समेत थपिन पुगेको छ ।
पत्रकारिताको मूल्य केवल समाचार कति छिटो प्रकाशित भयो भन्नेमा मात्र सीमित छैन
पत्रकारिता मूलतः सार्वजनिक महत्त्वका विषयमा सूचना सङ्कलन, व्याख्या र सम्प्रेषण गर्ने व्यावसायिक अभ्यास हो । तर यसको सामाजिक भूमिका सूचना प्रवाहमा मात्र सीमित रहदैन । पत्रकारिताले नागरिकलाई सुसूचित बनाउने काममा मात्र सीमित रहदैन । यसको साथै सार्वजनिक संस्थालाई प्रश्न गर्ने, समस्यालाई सार्वजनिक रूपमा बहसमा ल्याउने र सत्तासहित विभिन्न संस्थालाई जवाफदेही बनाउने काम पनि गर्छ । यस दृष्टिले पत्रकारिता समाजले आफू वरिपरिको वास्तविकता बुझ्ने महत्त्वपूर्ण माध्यम हो । त्यसैले पत्रकारिताको मूल्य केवल समाचार कति छिटो प्रकाशित भयो भन्नेमा होइन, त्यसमा समेटिएको सूचना कति सत्य, सन्तुलित, प्रमाणमा आधारित, सान्दर्भिक र जिम्मेवार छ भन्ने कुरामा समेत निर्भर रहन्छ ।
स्वास्थ्य पत्रकारितामा यो जिम्मेवारी अझ संवेदनशील हुन्छ। रोग, औषधि, उपचार, महामारी, स्वास्थ्य नीति, स्वास्थ्य सेवा, अनुसन्धान, पोषण वा स्वास्थ्य अधिकारसम्बन्धी समाचारले पाठकको धारणा मात्र निर्माण गर्दैन । यसले उपचार खोज्ने, औषधि प्रयोग गर्ने, स्वास्थ्य संस्थामा जाने वा कुनै उपचारप्रति विश्वास गर्ने निर्णयलाई समेत प्रभावित गर्न सक्छ । त्यसैले स्वास्थ्यसम्बन्धी समाचारमा सामान्य समाचार लेखनका मापदण्डसँगै वैज्ञानिक प्रमाण, हुनसक्ने जोखिम, लाभ, सीमितता, लागत, विकल्प र स्वार्थको सम्भावित प्रभावसमेत बुझेर प्रस्तुत गर्नुपर्ने आवश्यकता रहन्छ ।
विशेषतः चिकित्सा विज्ञान प्रमाणमा आधारित र निरन्तर परिवर्तनशील क्षेत्र भएकाले स्वास्थ्य पत्रकारले ‘कसैले भनेको कुरा’लाई मात्र समाचारको अन्तिम सत्यका रूपमा प्रस्तुत गर्नु पर्याप्त नहुन सक्छ । कुनै नयाँ औषधि, उपचार विधि वा अनुसन्धानसम्बन्धी दाबी आएको अवस्थामा त्यसको स्रोत, अध्ययनको प्रकृति, नमुना आकार, प्रमाणको स्तर, त्यसबाट पर्न सक्ने सम्भावित लाभ र जोखिम तथा अनुसन्धानमा रहेको आर्थिक वा संस्थागत स्वार्थबारे प्रश्न गर्न आवश्यक हुन्छ । यस सन्दर्भमा स्वास्थ्य पत्रकारितामा स्थापित केही अभ्यासहरूले उपचारका लाभसँगै हानि, लागत, प्रमाणको गुणस्तर, उपलब्ध विकल्प र वास्तविक नवीनतालाई पनि समाचारमा समेट्नुपर्ने आवश्यकतालाई जोड दिएका छन् ।
स्वास्थ्य पत्रकारिता केवल ‘स्वास्थ्यसम्बन्धी समाचार लेख्ने पत्रकारिता’ मात्र होइन !
स्वास्थ्य पत्रकारिता केवल ‘स्वास्थ्यसम्बन्धी समाचार लेख्ने पत्रकारिता’ मात्र होइन । यो विज्ञान र समाजबीचको जटिल सम्बन्धलाई सरल, स्पष्ट र जिम्मेवार भाषामा व्याख्या गर्ने पत्रकारिता पनि हो भनेर बुझ्नु जरूरी छ । वैज्ञानिक अनुसन्धानका जटिल तथ्


