बाढीले बगाएको गैँडा सुस्ता पुग्यो, उद्धारको तयारी

एटुजेड समाचार

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैँडा नारायणी नदीमा बगेर सुस्ता पुगेको छ । अन्दाजी पाँच वर्षको गैँडा सुस्ता गाउँपालिका–४ मा आज बिहान देखिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले गैँडा बगेर सुस्ता पुगेको सूचना पाएको लगत्तै गैँडाको निगरानीको काम थालिएको बताए । “गैँडाको रेकी भइरहेको छ । उद्धार गरेर हामी ल्याउने तयारीमा छौँ,” उनले भने । गैँडालाई डार्ट गरेर बेहोस बनाइ डुङ्गामा वा भारतीय बाटो हुँदै ल्याउनुपर्ने हुन्छ । सुस्ता नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) मा पर्दछ । त्यहाँ पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने हुन्छ ।

नारायणी नदीमा शनिबार र आइतबार बाढी आउँदा नदी तटीय क्षेत्रबाट गैँडा बगाएको जनाइएको छ । नदीले बगाएर अन्य गैँडासहितका वन्यजन्तु भारत पुर्‍याएको हुन सक्ने अनुमान छ ।

यसअघि विसं २०७४ साउन २८ गते राप्ती र नारायणी नदीमा बाढी आउँदा धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमि पुगेका थिए । तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहसचिव डा रामचन्द्र कँडेलका अनुसार तत्कालीन समयमा भारतीय भूमिमा पुगेका १२ गैँडा उद्धार गरी ल्याइएको थियो ।

भारतको वाल्मीकि टाइगर रिजर्भका अधिकारीहरूसँगको पुरानो चिनजानका कारण गैँडा ल्याउने काममा भारतका तर्फबाट सहजीकरण भएको उनले बताए । यस वर्षको बाढी ठूलो भएकाले भारतसम्म गैँडा पुगेको हुन सक्ने आकलन गरिएको छ । यस वर्ष शनिबार र आइतबारको बाढीमा राप्ती नदीको मेघौली, खैरहनीलगायतका क्षेत्रमा बगेका गैँडा आफैँ उत्रिएको निकुञ्जले जनाएको छ । एउटा मृगलाई भरतपुर महानगरपालिका–१७ शिसुवारबाट उद्धार गरिएको छ ।चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु