भरतपुर – विश्व पर्यटन दिवस–२०२६ को अवसरमा भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर ह्याकाथन–२०२६’ प्रतियोगिता सम्पन्न भएको छ। सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत भरतपुरको पर्यटन विकासका नयाँ सम्भावना पहिचान गर्ने उद्देश्यले ह्याकाथन आयोजना गरिएको हो ।
भरतपुर महानगरपालिकाको आयोजना तथा वीरेन्द्र बहुमुखी क्याम्पसको कम्प्युटर साइन्स तथा सूचना प्रविधि विभागको सहकार्यमा आयोजित प्रतियोगितामा भरतपुर महानगरपालिका क्षेत्रका सूचना प्रविधिसम्बन्धी १० वटा कलेजका स्नातक तहका विद्यार्थी तथा प्राविधिक टोली सहभागी भएका थिए ।
प्रतियोगितामा फोब्स कलेज प्रथम, युटेक कलेज द्वितीय र सप्तगण्डकी कलेज तृतीय भएका छन् । विजेता समूहलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने महानगरपालिकाका पर्यटन शाखा प्रमुख बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।
ह्याकाथनको मुख्य विषय Digital Agenda and Artificial Intelligence to Redesign Tourism रहेको थियो । सहभागी विद्यार्थी तथा प्राविधिक टोलीले डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) तथा नवीनतम प्रविधिको प्रयोगमार्फत भरतपुरको पर्यटन प्रवर्द्धन, पर्यटकीय सूचना, सेवा तथा गन्तव्य व्यवस्थापनलगायत क्षेत्रमा नयाँ अवधारणा र समाधान प्रस्तुत गरेका थिए ।
उद्घाटन समारोहमा भरतपुर महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेलले सिर्जनात्मक सोच र प्रविधिको प्रयोगमार्फत भरतपुरको पर्यटन विकासमा योगदान पुर्याउन सहभागीलाई आग्रह गर्नुभएको थियो ।
महानगरपालिकाका पर्यटन विज्ञ सल्लाहकार डा. विश्व सुवेदीले भरतपुरलाई पर्यटन नगरीका रूपमा विकास गर्न सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको अधिकतम उपयोग आवश्यक रहेको बताउनुभयो । पर्यटन क्षेत्रमा देखिएका चुनौती पहिचान गरी प्रविधिमा आधारित नयाँ समाधान विकास गर्न ह्याकाथनजस्ता कार्यक्रम महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।
त्यस्तै, महानगरपालिकाका खेल तथा पर्यटन सल्लाहकार अनिल अधिकारीले सूचना प्रविधि, सिर्जनशीलता र नयाँ सोचलाई भरतपुरको पर्यटन विकाससँग जोड्न ह्याकाथन महत्वपूर्ण अवसर भएको बताउनुभयो ।
प्रतियोगितामा वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापकद्वय पृथ्वीराज सुवेदी र शोवराज पौडेल मेन्टर तथा सूचना प्रविधि अधिकृतहरू विकल्प काफ्ले, प्रवीण भण्डारी र सुजन लौडारी निर्णायक रहनुभएको थियो ।
महानगरपालिकाले विश्व पर्यटन दिवसलाई औपचारिक कार्यक्रममै सीमित नराखी युवा पुस्ताको प्रविधि, सिर्जनशीलता र कृत्रिम बुद्धिमत्तालाई भरतपुरको पर्यटन विकाससँग जोड्ने प्रयासस्वरूप ह्याकाथन आयोजना गरिएको जनाएको छ ।


