मेयरको टिकट कसले लैजाला? महालक्ष्मी कांग्रेसमा लक्ष्मी–कपिलको राजनीतिक होडबाजी

ललितपुर – २०८४ को स्थानीय तह निर्वाचन अझै केही समय टाढा छ। तर महालक्ष्मी नगरपालिकामा भने नेपाली कांग्रेसको मेयर टिकटलाई लिएर राजनीतिक तापक्रम बढ्न थालेको चर्चा छ।

नगरको नेतृत्व सम्हाल्ने दौडमा वर्तमान उपमेयर लक्ष्मी महर्जन र वडा नम्बर ५ का वडा अध्यक्ष कपिल केसीको नाम अगाडि आउन थालेसँगै कांग्रेसभित्रको आन्तरिक समीकरणसमेत चासोको विषय बनेको छ।

दुवै जना अहिले निर्वाचित जनप्रतिनिधि हुन्। फरक यति हो महर्जन नगरको उपप्रमुखको जिम्मेवारीमा रहेर नगरस्तरीय अनुभव बटुलिरहेकी छन् भने केसी वडा नम्बर ५ को नेतृत्व सम्हाल्दै स्थानीय तहमा आफ्नो प्रभाव विस्तार गरिरहेका छन्।

अब प्रश्न उठेको छ,कांग्रेसले महालक्ष्मीको मेयर टिकट कसको हातमा सुम्पेला? महर्जन पक्षले आफूले उपमेयरका रूपमा गरेको काम, नगरस्तरमा बनाएको राजनीतिक सम्बन्ध र स्थानीय तहमा देखाएको उपस्थितिलाई आफ्नो आधारका रूपमा प्रस्तुत गर्न सक्ने देखिन्छ। कांग्रेसभित्र उनको दाबी सामान्य आकांक्षाभन्दा माथि पुगिसकेको चर्चा छ।

उता वडा अध्यक्ष केसी पनि चुप लागेर बस्ने अवस्थामा देखिँदैनन्। वडा नम्बर ५ मा जिम्मेवारी सम्हालेर स्थानीय स्तरमा आफ्नो प्रभाव बनाएका केसीले अब नगरको नेतृत्वका लागि दाबी गर्ने तयारी गरिरहेको चर्चा कांग्रेस वृत्तमा छ।

केसीको राजनीतिक दाबीलाई पार्टीभित्रको समूहगत समीकरणले पनि बल दिन सक्ने चर्चा छ। कांग्रेस सभापति गगन थापा पक्षसँग उनको निकटता रहेको र त्यही राजनीतिक सम्बन्ध टिकटको दाबीमा महत्वपूर्ण बन्न सक्ने चर्चा सुनिन्छ।

यता उपमेयर महर्जन भने तत्कालीन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमार्फत पार्टीभित्र आफ्नो राजनीतिक पहुँच बलियो बनाउने विश्वासमा रहेको चर्चा कांग्रेस मा छ।यहीँबाट महालक्ष्मी कांग्रेसको आन्तरिक प्रतिस्पर्धा थप रोचक बनेको छ।

एकातिर नगरको जिम्मेवारी सम्हालिसकेकी उपमेयर, अर्कोतिर वडा तहबाट आफ्नो राजनीतिक आधार निर्माण गरेका वडा अध्यक्ष। एकातिर नगरस्तरीय अनुभव, अर्कोतिर संगठनात्मक समीकरण र स्थानीय प्रभाव। तर टिकटको अन्तिम निर्णय भने व्यक्तिगत चाहना वा कुनै नेतासँगको निकटताले मात्रै निर्धारण गर्ने विषय होइन। पार्टीको संगठन, स्थानीय कार्यकर्ताको समर्थन, जनाधार, विगतको कार्यसम्पादन र नेतृत्व तहको राजनीतिक समीकरणले महत्वपूर्ण भूमिका खेल्न सक्छ।

महालक्ष्मीमा दुवैको आफ्नै आधार देखिन्छ। त्यसैले अहिले नै कसले टिकट पाउँछ भनेर निष्कर्ष निकाल्नु हतार हुनेछ। तर कांग्रेसभित्र टिकटको दौड सुरु भएको संकेत भने स्पष्ट देखिन थालेको छ।अब महालक्ष्मी कांग्रेसका कार्यकर्ता र स्थानीय राजनीतिक वृत्तको एउटै प्रश्न छ ।“नगरको नेतृत्वका लागि अन्तिम रोजाइ कसको नाममा रोकिन्छ—लक्ष्मी महर्जन कि कपिल केसी?”

२०८४ को निर्वाचन नजिकिँदै जाँदा यो प्रश्नको जवाफ पनि क्रमशः स्पष्ट हुँदै जानेछ। अहिले भने महालक्ष्मी कांग्रेसभित्र मेयरको टिकटको दौडले नयाँ राजनीतिक समीकरण जन्माउने संकेत देखिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु