भारतसँगको सम्बन्ध उत्कृष्ट अवस्थामा छ : परराष्ट्रमन्त्री खनाल

एटुजेड समाचार

न्युयोर्क – परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँग नेपालको सम्बन्ध अहिले उत्कृष्ट अवस्थामा रहेको बताएका छन् ।न्युयोर्कमा आयोजित एसिया सोसाइटीको एक कार्यक्रममा बोल्दै खनालले नेपाल र भारतबिचको सम्बन्ध बहुआयामिक र बलियो रहेको बताएका हुन् ।नेपालको कुल वैदेशिक व्यापारको करिब दुई तिहाइ भारतसँग हुने उल्लेख गर्दै उनले दुई देशबिच सामाजिक तथा सांस्कृतिक सम्बन्धसमेत गहिरो रहेको बताए ।

परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेको जानकारी दिए ।भेटमा नेपाल–भारत सम्बन्ध तथा दुवै देशका साझा हितका विषयमा छलफल भएको उनले बताए । विकास साझेदारी र ऊर्जा सहकार्यको प्रगतिबारे समेत कुराकानी भएको खनालको भनाइ छ । उनले भारतसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

भारत र चीनबिच नेपालले कसरी सन्तुलन कायम गरिरहेको छ भन्ने प्रश्नमा खनालले नेपालको विदेश नीतिलाई अब केवल वैचारिक दृष्टिकोणबाट नभई व्यावहारिक सहकार्य र आर्थिक अवसरका आधारमा अघि बढाउन खोजिएको बताए ।

छिमेकी मुलुकसँग सीमा लगायतका विवादित विषय हुन सक्ने भए पनि नेपालले सहकार्यका सम्भावित क्षेत्र पहिचान गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।भारतसँगको ऊर्जा व्यापारलाई उनले यस्तो व्यावहारिक दृष्टिकोणको उदाहरणका रूपमा प्रस्तुत गरे ।खनालका अनुसार नेपालको अर्थतन्त्र आयातमा धेरै निर्भर रहेकाले ऊर्जा र व्यापार सहकार्य नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण छन् ।

परराष्ट्रमन्त्रीले नेपालको भौगोलिक अवस्थालाई आर्थिक अवसरमा रूपान्तरण गर्न सकिने बताए । उनले भारतसँग नेपालको १ हजार ७ सय किलोमिटरभन्दा बढी लामो खुला सीमा रहेको उल्लेख गरे ।नेपालसँग आर्थिक रूपमा उपयोग गर्न सकिने करिब ४३ गिगावाट जलविद्युत् क्षमता रहेको र सन् २०३५ सम्म २८ हजार मेगावाटसम्म उत्पादन पुर्‍याउने दिशामा काम भइरहेको उनले बताए । यसबाट भारत हुँदै बंगलादेशसम्म स्वच्छ ऊर्जा निर्यातको सम्भावना रहेको उनको भनाइ छ ।

खनालले नेपाललाई केवल भारत र चीनको बिचमा रहेको सानो भू–आबद्ध मुलुकका रूपमा हेर्न नहुने बताए । भारत र चीन दुवै ठुला छिमेकी हुनु भौगोलिक वास्तविकता भए पनि त्यसले नेपालको आर्थिक महत्त्वाकाङ्क्षाको सीमा निर्धारण गर्न नहुने उनको भनाइ थियो ।

उनले चीनसँग पनि नेपालले व्यावहारिक र व्यापारमुखी सम्बन्ध अघि बढाउन चाहेको बताए । उत्तर र दक्षिणतर्फका सम्पर्क मार्गलाई एकअर्काको विकल्पका रूपमा नभई दुवै दिशालाई जोडेर नेपाललाई भू–आबद्ध अर्थतन्त्रबाट ‘ल्यान्ड–लिंक्ड’ आर्थिक केन्द्रमा रूपान्तरण गर्ने लक्ष्य रहेको उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु