ट्रम्पद्वारा ‘एआई फोर्स’ गठनको घोषणा, छिट्टै एआई ‘जार’ नियुक्त हुने

एटुजेड समाचार

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रको विकासलाई संरक्षण र प्रोत्साहन गर्न ‘एआई फोर्स’ गठन गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत् वक्तव्य जारी गर्दै ट्रम्पले आफूले पहिलो कार्यकालमा गठन गरेको ‘स्पेस फोर्स’जस्तै एआई फोर्स गठन गर्न लागेको बताएका हुन् ।

उनले एआईसम्बन्धी विषय हेर्ने ‘जार’ नियुक्त गर्ने घोषणा पनि गरेका छन् ।ट्रम्पले एआई क्षेत्रको विकास रोक्न वा अवरोध गर्न नहुने बताउँदै यसलाई सहयोग र संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

यद्यपि, एआईको दुरुपयोग वा गैरकानूनी गतिविधि नियन्त्रण गर्न विद्यमान फौजदारी तथा देवानी न्याय प्रणाली प्रयोग गर्न सकिने उनको भनाइ छ ।उनले एआईलाई औद्योगिक क्रान्ति वा इन्टरनेटजस्तै ठूलो परिवर्तनकारी क्षेत्रका रूपमा व्याख्या गर्दै भविष्यमा यसले अमेरिकी कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २५ प्रतिशतसम्म योगदान गर्न सक्ने दाबी गरेका छन् ।

ट्रम्पले अमेरिका एआई विकासमा चीन र विश्वका अन्य मुलुकभन्दा अघि रहेको दाबी गर्दै उक्त अग्रता कायम राख्ने आफ्नो उद्देश्य रहेको बताएका छन् ।आफ्नो वक्तव्यमा ट्रम्पले एआई र डेटा सेन्टरसम्बन्धी आलोचनालाई ‘रेडिकल लेफ्ट’ अर्थात् उग्र वामपन्थी डेमोक्र्याटहरूले फैलाएका भ्रमका रूपमा चित्रण गरेका छन् । उनले डेटा सेन्टरविरुद्धको विरोध असफल भएको दाबी गर्दै अहिले एआई क्षेत्रलाई नै निशाना बनाइएको आरोप लगाएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु