वीरगञ्ज । स्वास्थ्य सेवा लिन पुगेकी सेवाग्राहीसँग ओपीडी टिकटको विषयलाई लिएर विवाद चर्किएपछि वीरगञ्ज महानगरपालिका–१४ स्थित स्वास्थ्य चौकीका प्रमुख सचितानन्द प्रसाद जयसवाल विवादमा तानिएका छन्।
ग्यास्टिकसम्बन्धी समस्या लिएर स्वास्थ्य चौकी पुगेकी सरिता पटेलले सेवा लिएपछि ओपीडी टिकट नकाटेको विषयमा कुराकानी गर्ने क्रममा विवाद सुरु भएको बताएकी छन्। पटेलको आरोपअनुसार विवाद बढ्दै गएपछि स्वास्थ्य चौकी प्रमुख सचितानन्द प्रसाद जयसवाल र कर्मचारी पासपति जयसवालबाट आफूले गालीगलौज तथा अभद्र व्यवहार सहनुपरेको दाबी गरेकी छन्।
सामान्य स्वास्थ्य सेवा लिन पुगेकी सेवाग्राही र स्वास्थ्य चौकीका जिम्मेवार व्यक्तिबीच टिकटको विषयले यति ठूलो विवाद किन निम्तियो घटनासँग सम्बन्धित भनिएको अडियो रेकर्डसमेत सुरक्षित रहेको दाबी गरिएको छ। उक्त अडियोमा सेवाग्राही र कर्मचारीबीच भएको भनिएको चर्काचर्की रेकर्ड रहेको बताइएको छ।
स्वास्थ्य चौकीको नेतृत्व गर्ने व्यक्तिबाटै सेवाग्राहीसँग अभद्र व्यवहार भएको आरोप लाग्नु सामान्य विषय होइन। सेवाग्राहीले नियम नबुझेको भए सम्झाउने, टिकट नकाटिएको भए प्रक्रिया पूरा गराउने र विवाद भए संयमित ढंगले समाधान गर्ने जिम्मेवारी स्वास्थ्य संस्थाका कर्मचारीको हुन्छ।तर पटेलको आरोप सत्य सावित भएमा प्रश्न केवल ओपीडी टिकटको रहने छैन, स्वास्थ्य चौकी प्रमुख सचितानन्दको सेवाग्राहीप्रतिको व्यवहार र नेतृत्व शैलीमाथिसमेत गम्भीर प्रश्न उठ्नेछ।
स्थानीयका अनुसार सचितानन्दको कार्यशैली तथा सेवाग्राहीसँगको व्यवहारलाई लिएर यसअघि पनि विभिन्न गुनासा उठ्दै आएका थिए। कार्यालय समयमा ढिलाइ गर्ने तथा सेवाग्राहीसँग उचित व्यवहार नगरेको लगायतका विषयमा प्रश्न उठेको स्थानीयको दाबी छ।विगतका गुनासा भनिएका विषय र अहिले पुनः सेवाग्राहीसँग विवाद भएको घटना जोडिँदा ‘गुनासा उठिरहने तर समाधान किन नहुने ?
ओपीडी टिकट स्वास्थ्य संस्थाको प्रक्रिया हुन सक्छ। तर प्रक्रिया पालना गराउने नाममा सेवाग्राहीले अपमानित हुनुपर्ने अवस्था सिर्जना हुनु हुँदैन।त्यसैले अहिले मुख्य प्रश्न सरिता पटेलले टिकट काटिन् कि काटिनन् मात्र होइन, विवादका क्रममा स्वास्थ्य चौकी प्रमुख सचितानन्द र कर्मचारीको व्यवहार कस्तो थियो भन्ने पनि हो।
आरोप प्रमाणित भए कारबाहीको विषय बन्न सक्छ, आरोप असत्य भए सम्बन्धित पक्षले तथ्यसहित खण्डन गर्ने बाटो खुला छ। तर आरोप सार्वजनिक भइसकेपछि मौनताले प्रश्न झन् बढाउने अवस्था देखिन्छ।


