काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ९६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष साउनमा यो १ दशमलव ६८ प्रतिशतमात्र थियो । यसले नेपालमा महँगी ह्वात्तै बढेको देखाउँछ ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार महँगीको मार सबैभन्दा धेरै खाद्यान्न र यातायातमा परेको छ । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेलमा १५ दशमलव ६२ प्रतिशत मूल्य बढेको छ । फलफूलमा १५ दशमलव ३९ प्रतिशत, माछा तथा मासु ८ दशमलव ६५, तरकारी ६ दशमलव ९० र मरमसलाको मूल्य ४ दशमलव ८० प्रतिशत वृद्धि भएको छ ।
त्यस्तै खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति समग्रमा ६ दशमलव ७७ प्रतिशत छ । गैरखाद्य तथा सेवा समूहको ५ दशमलव ५२ प्रतिशत छ । गैरखाद्यतर्फ सबैभन्दा धेरै महँगी यातायातमा १३ दशमलव १७, मदिरा ७ दशमलव २०, कपडा तथा जुत्ताचप्पल ५ दशमलव ५२ र सुर्तीजन्य पदार्थमा ४ दशमलव ९७ प्रतिशत छ ।


