१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर हो : नैनसिंह महर

एटुजेड समाचार

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले आगामी महाधिवेशन पार्टीको नेतृत्व चयन गर्ने अवसरमा मात्र सीमित नराखी पार्टीलाई समयानुकूल परिवर्तन गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।

महरले नेतृत्वसँगै पार्टीको विचार, संगठन, कार्यशैली र राजनीतिक संस्कारमा परिवर्तन आवश्यक रहेको बताएका छन्। उनले ‘बदलिएको कांग्रेस’ भनेको नयाँ अनुहार मात्र नभई नयाँ सोच, नयाँ संगठन, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कारसहितको पार्टी भनेका छन्।

विगतका पुस्ताको त्याग, संघर्ष र योगदानकै जगमा कांग्रेस उभिएको उल्लेख गर्दै महरले नयाँ पुस्ताको ऊर्जा समेटेर पार्टीलाई हरेक नेपालीको साझा थलो बनाउनुपर्ने बताए।

‘अब नेतृत्वको बहस व्यक्तिमा होइन, दृष्टिकोण र विचारमा हुनुपर्छ। कस्तो कांग्रेस बनाउने भन्ने स्पष्ट जवाफ दिन नसक्ने नेतृत्व परिवर्तनको कुनै अर्थ रहँदैन,’ उनले भने।

महरले कांग्रेसको संगठनलाई चुनावका बेला मात्र मत माग्ने माध्यमका रूपमा सीमित नराखी नियमित रूपमा जनताको घरआँगनमा पुग्ने संरचनाका रूपमा विकास गर्नुपर्ने बताए।

पुस्तान्तरणलाई नारामा मात्र सीमित नगरी युवालाई निर्णय प्रक्रियाको मूल तहमा सहभागी गराउनुपर्ने उनको भनाइ छ।

उनले अनुभव, ऊर्जा र राजनीतिक संस्कारलाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिए। राजनीतिलाई जनताको दैनिक जीवनसँग जोड्दै रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, उद्यमशीलता र उत्पादनका विषयलाई पार्टीको प्राथमिकतामा राख्नुपर्ने उनले बताए।

प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै बदलिँदो विश्व परिवेशअनुसार कांग्रेसले आफ्ना नीति र राजनीतिक दृष्टिकोणलाई पनि अद्यावधिक गर्नुपर्ने महरको भनाइ छ।

पार्टीभित्र पारदर्शिता र स्पष्टता तथा राज्य सञ्चालनमा जवाफदेहिता कायम गर्न सके मात्र कांग्रेसले जनताको विश्वास पुनः प्राप्त गर्न सक्ने उनले बताए।

जलवायु परिवर्तन, विपद् व्यवस्थापन, डिजिटल प्रविधि र बदलिँदो विश्व अर्थतन्त्रका विषयमा पनि पार्टीको स्पष्ट दृष्टिकोण आवश्यक रहेको महरले उल्लेख गरे।

‘१५औँ महाधिवेशनलाई कसको नेतृत्व बनाउने भन्नेमा मात्र सीमित नराखी कस्तो कांग्रेस, कस्तो संगठन र कस्तो नेपाल बनाउने तथा विश्व मञ्चमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने बहसमा केन्द्रित गराउनुपर्छ,’ उनले भने।

पुरानो पुस्ताको अनुभव, संस्कार र संस्थागत अपेक्षालाई नयाँ पुस्ताको ऊर्जासँग जोड्दै जिम्मेवार कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिँदै महरले आफू उक्त जिम्मेवारीका लागि तयार रहेको बताए।

उनले १५औँ महाधिवेशनबाट नेतृत्व चयनसँगै समावेशिताका आधारमा कांग्रेसको समग्र रूपान्तरण गर्ने संकल्प गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु