अन्कुरम एकेडेमीमा शनिबारदेखि ‘नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम’ हुँदै

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिका ७ कृष्णपुरस्थित अन्कुरम एकेडेमीमा तेस्रो संस्करणको त्रीदीवसीय ‘अड्करम–नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम’ भोली शनिबारदेखि सुरु हुने भएको छ।

चितवनलगायत विभिन्न जिल्लाबाट १२ बिद्यालयका दुई सय जना विद्यार्थीको सहभागिता रहने कार्यक्रममा संयुक्त राष्ट्रसंघका ६ वटा कमिटीका प्रतिनिधिका रूपमा विद्यार्थीहरूले विभिन्न विषयमा बहस तथा छलफल गर्नेछन्।एउटा कमिटीमा ३० देखी ३५ जना विद्यार्थी सहभागी हुने छन् भने सो कार्यक्रममा ७ देखी १२ कक्षासम्मका विद्यार्थीहरु सहभागी हुन पाउने छन् ।

कार्यक्रमको उद्घाटन नवलपुर १ का प्रतिनिधिसभा सदस्य राजन गौतमको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ। कार्यक्रममा सहारा होम्स्की संस्थापक अध्यक्ष तथा नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मीना खरेल, चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ प्रा. डा. अनिल आचार्य, रिटायर्ड मेजर शैलजा श्रेष्ठ केसी, डेजी स्कुलका प्रिन्सिपल प्रेम रिमाल, बेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्की, पत्रकार विवेक पोखरेललगायतको विशिष्ट आतिथ्यता रहनेछ।

अन्कुरम एकेडेमीका अनुसार विद्यालयको नयाँ किसिमको कार्यक्रममा विद्यार्थीको रचनात्मक क्रियाकलाप तथा सर्वाङ्गीण विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमअन्तर्गत संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्अन्तर्गत उदीयमान रणनीतिक क्षेत्रमा महत्वपूर्ण पूर्वाधारको सुरक्षा, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथिका खतराको सम्बोधन विषयमा छलफल हुने छ।

यसैगरी संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनअन्तर्गत उदीयमान प्रविधिहरूबाट द्वन्द्व र संकटको अवस्थामा शिक्षाको अधिकारको संरक्षण, विश्व स्वास्थ्य संगठनअन्तर्गत चिकित्सा क्षेत्रमा नवीन आविष्कारहरूमा असमान पहुँचका कारण सिर्जित विश्वव्यापी स्वास्थ्य असमानताको रोकथाम तथा संयुक्त राष्ट्रसंघीय बालकोषअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्सको युगमा अनलाइन शोषणविरुद्ध बालबालिकाको सुरक्षा संयन्त्रको सुदृढीकरण विषयमा छलफल हुने आयोजकले जनाएको छ।

कार्यक्रममा छ वटै कमिटीका सभापति, उपसभापति तथा प्रतिनिधिहरूले अध्ययन, अनुसन्धान र छलफल गरी सम्बन्धित विषयमा निर्णय तथा प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको महासचिव रिताकुमारी उपाध्यायले जानकारी दिइन्।कार्यक्रम विहान ८ बजे देखी साझ ६ बजेसम्म सन्चालन हुने छ । भोली ३ गतेबाट शुरु हुने ‘नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम ५ गते सम्म सन्चालन हुने आयोजकको भनाई छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु