चितवन – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि चितवनका विभिन्न स्थानमा हालसम्म ३६४ वटा शव फेला परेका छन्। तीमध्ये १४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी मनिष श्रेष्ठका अनुसार असोज १ गतेसम्मको विवरणअनुसार सनाखत भएका शवमध्ये १० जना पुरुष, ३ जना महिला र एक जना बालक रहेका छन्।
प्रहरीका अनुसार चितवनका विभिन्न भूभागमा भेटिएका शवमध्ये ७६ जना महिला, १२३ जना पुरुष, १७ जना बालिका र ११ जना बालक रहेका छन्। त्यस्तै, १३७ वटा शवको पहिचान खुल्न बाँकी रहेको छ।
हालसम्म ३५१ वटा शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। व्यवस्थापन गरिएका शवमध्ये ७६ जना महिला, ११२ जना पुरुष, १६ जना बालिका, ११ जना बालक र १३६ वटा अन्य शव रहेको विवरणमा उल्लेख छ।
यसैबीच, चितवनमा स्थायी घर भई विभिन्न काम तथा भ्रमणका क्रममा रसुवा पुगेका १६ जना सम्पर्कविहीन रहेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफन्त तथा सम्बन्धित व्यक्तिहरूले कार्यालयमा नाम टिपाएपछि सम्पर्कविहीन व्यक्तिहरूको विवरण तयार गरिएको हो। प्रहरीका निमित्त सूचना अधिकारी श्रेष्ठले सम्पर्कविहीनहरूको खोजी तथा विवरण संकलनको काम भइरहेको जानकारी दिएका छन्।


