काठमाडौं – पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ ।अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ ।
उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् ।घटनाको २४ घण्टाभन्दा कम समयपछि बुधबार अधिकारी बर्वुड स्थानीय अदालतमा उपस्थित भएका थिए ।अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रश्न गरेपछि उनीसँग केही समर्थक पनि देखिएका थिए।
रिपोर्टअनुसार उनले कागजको पानाले आफ्नो अनुहार छोप्ने प्रयास गरेका थिए ।अधिकारीका वकिल ड्यानी इडले घटनालाई ‘अत्यन्तै दुःखद’ भएको बताएका छन् ।‘उनी निकै तनावमा छन् र परिवार तथा उनीहरूको अवस्थाबारे चिन्तित छन्’ इडले सञ्चारकर्मीसँग भने ।


