चाङ्गान नेभो क्यु ०५ विद्युतीय गाडी चितवनमा सार्वजनिक

एटुजेड समाचार

चितवन – चितवनमा चाङ्गान नेभो क्यु ०५ विद्युतीय गाडी सार्वजनिक गरिएको छ । चितवनका लागि एमएडब्लु वृद्धि अटोकोर्प प्रा.लि. अन्तरगतको अधिकृत चाङगान डिलर राजहंस अटोमोबाइल प्रा.लि.ले नयाँ नेभो क्यु ०५ विद्युतीय गाडी आइतबार साँझ भरतपुरमा सार्वजनिक गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, काडा चितवनका अध्यक्ष इन्द्र रेग्मी, एमएडब्लु वृद्धिका निर्देशक पार्थ सिकरिया र एमएडब्लु वृद्धि अटोकोर्प प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर चन्द र राजहंस अटोमोबाइल–चाङ्गान चितवनका अध्यक्ष दिलीप थनेतले नेभो क्यु ०५ विद्युतीय गाडी सार्वजनिक गर्नुभएको हो ।

ग्राहकहरुले सार्वजनिक गरिएको नेभो क्यु ०५ विद्युतीय गाडी हिजो (सोमबार)देखि भदौ ३१ गतेसम्म भरतपुर रिजाल चोकस्थित दीपल शोरुममा विशेष टेस्ट ड्राइभ मार्फत प्रत्यक्ष अनुभव लिन सक्ने राजहंस अटोमोबाइल प्रा.लि.का अध्यक्ष दिलीप थनेतले जानकारी दिए । उनले दीपललाई माया दिए जस्तै चाङ्गान नेभो क्यु ०५ लाई पनि माया गर्नेमा विश्वास व्यक्त गरे । उनले यस शोरुमबाट चितवनसंगै नवलपुर र मकवानपुरका ग्राकहहरुलाई पनि सहज रुपमा गाडी खरिद गर्न सकिने बताए । ‘हामी तीन वटै जिल्लालाई लक्षित गरि यहाँ शोरुम ल्याएका हौं, विगतमा झै सधै माया गर्नु हुन्छ भन्नेमा विश्वास छ’–अध्यक्ष थनेतले भने ।

गाडी सार्वजनिक गरिएसंगै अल्ट्रा भेरियन्टका लागि ५१ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य प्रस्तुत गरिएको छ । चाङ्गान नेभो क्यु ०५ एउटा कम्प्याट इलेक्ट्रिक एसयुभी हो । जसले कम्फर्ट, डिजाइन र टेक्नोलोजीमा ‘ए क्लास अनुभव’ प्रदान गर्ने गरि डिजाइन गरिएको एमएडब्लु वृद्धि अटोकोर्प प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर चन्दले जानकारी दिए ।

आधूनिक परिवारको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको चाङ्गान नेभो क्यु ०५ ले कम्प्याक्ट बाहिरी आकारसंगै फराकिलो र व्यवहारिक केबिन प्रदान गर्दछ । पछाडीको सिट ब्याकमा २८ र ३३ डिग्रीका दुई वटा रिक्लाइनिङ पोजिसन उपलब्ध छन् भने सिटहरुमा एर्गोनोमिक नौ तहको निर्माण गरिएको छ । चाङ्गान नेभो क्यु ०५ मा ५४० लिटर डुअल–लेभल बुटसहित ९० लिटर लुकेको स्टोरेज, २९ वटा व्यावहारिक स्टोरेज तथा ६७ भन्दा बढी साउन्ड इन्सुलेसन तथा न्वाइज रिडक्सन पोइन्टहरु रहेका छन् ।

Q05 मा CATL Golden Shield 2.0 ब्याट्री रहेको छ, जसले ३०% देखि ८०% सम्म चार्ज हुन केवल १५ मिनेट समय लिन्छ। अन्तर्राष्ट्रिय स्तरमा अवार्ड प्राप्त यसको डिजाइनले चीनमा आफ्नो सेग्मेन्टमा पछिल्लो ५ महिनादेखि नम्बर १ एसयूभीको स्थान कायम गरेको छ।

१२० किलोवाटको इलेक्ट्रिक मोटरबाट सञ्चालित NEVO Q05 ले NEDC परीक्षणअनुसार ४६२ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ भने यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ kWh मात्र रहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु