काठमाडौं – सल्यानमा मोटरसाइकलको पछाडिको चक्कामा दुपट्टा बेरिँदा दाङकी ३५ वर्षीया जीता केसीको मृ त्यु भएको छ। तीज मनाउन माइतीघर जाने क्रममा शनिबार दिउँसो त्रिवेणी गाउँपालिका–३ टाट्केमा दुर्घटना भएको हो। प्रहरीका अनुसार केसी रा ४ प २४३ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन्। भित्री कच्ची सडकको ओरालोमा मोटरसाइकल तीव्र गतिमा गुडिरहेका बेला उनले लगाएको सलवार सुटको दुपट्टा पछाडिको चक्कामा बेरिएको थियो।
दुपट्टा चक्कामा अल्झिएपछि मोटरसाइकलको गतिले केसीलाई तानेर सडकमा खसाएको थियो। चालकले तत्काल अवस्था थाहा नपाउँदा केहीबेरसम्म उनलाई मोटरसाइकलले सडकमा लतारेको प्रहरीले जनाएको छ।मोटरसाइकल रोकेर हेर्दा केसीको घाँटीमा दुपट्टा कसिएको अवस्थामा भेटिएको थियो। दुपट्टा काटेर निकालिए पनि उनको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
मोटरसाइकल केसीकी भदै कृष्ण केसीले चलाएका थिए। कृष्णले दाङस्थित घरबाट फुपू जीतालाई तीजका लागि माइतीघर लैजाँदै गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले कपडा तथा दुपट्टा मोटरसाइकलको चक्कामा बेरिन सक्ने भएकाले यात्राका क्रममा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।


