भक्तपुर : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुनर्वासको व्यवस्था गर्ने बताएका छन्।
भक्तपुरका सञ्चारकर्मीहरूसँग आज सूर्यविनायकमा छलफलका क्रममा उनले घरवास गुमाएकाहरूको लागि प्रदेश सरकारले बस्ती निर्माण गरेर पुनर्वासको व्यवस्था गर्ने बताए।
उनले भने, “रसुवामा आएको बाढीले बगाएको भोटेकोशी र त्रिशूली नदीको दायाँ–बायाँ क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैन किनकि भोटेकोशी र त्रिशूली नदी किनारका क्षेत्र अझै जोखिमपूर्ण छ।
त्यसैले बागमती प्रदेश सरकारले घरवास गुमाएका नागरिकका लागि दीर्घकालीन सोचका साथ बस्ती विकास गर्ने तयारी गरेको छ।” उनले त्यस्ता नागरिकका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको बताउँदै नुवाकोटका पीडितका लागि विदुर नगरपालिकामा जग्गा उपलब्ध गराउने भएको र रसुवाका लागि जग्गा खोजी रहेको बताए।
मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकारले बाढी तथा विपद् प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अघि बढाएको बताउँदै तत्कालीन राहतसँगै प्रभावित नागरिकलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनःस्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको बताए।
मुख्यमन्त्री थापाले भने, “भोटेकोशीमा गएको बाढीका प्रभावितलाई उद्योग वाणिज्य महासंघ तथा उद्योगीहरूसँगको सहकार्यमा रोजगारीको व्यवस्था गर्ने भएका छौँ। त्यसका लागि हामीले पहल र छलफल सुरु गरिसकेको छौँ। त्यसैगरी प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा, आवासको जिम्मेवारी लिने प्रदेश सरकारले निर्णय गरी आवश्यक प्रक्रिया अगाडि बढाएका छौँ।”


