काठमाडौं – राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल अगाडि एक विपन्न महिलाले सडक पेटीमै बच्चा जन्माएको घटना सार्वजनिक भएपछि अहिले अस्पताल र सरकारको स्वास्थ्य सेवामाथि गम्भीर प्रश्न उठेको छ।राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानलाई मंगलबार राति करिब डेढ बजे सुत्केरी व्यथा लागेपछि उनका श्रीमान् र आफन्तले सिटी रिक्सामा अस्पताल पुर्याएका थिए।
पीडित पक्षका अनुसार अस्पतालमा प्रसूति विभागमा पुगेपछि स्टाफ नर्सले अल्ट्रासाउन्ड, रगत र पिसाब परीक्षण गर्नुपर्ने र त्यसका लागि २ हजार ५ सय रुपैयाँ लाग्ने बताइन्।तर बबिताले आफू विपन्न भएको र तत्काल पैसा नभएको बताइन्। आफूले यसअघि पनि तीन सन्तान सामान्य रूपमा जन्माएको भन्दै जाँचबिनै प्रसूति गराउन आग्रह गरे पनि अस्पतालले नमानेको उनको दाबी छ।
पैसा नभएपछि अस्पतालमा भर्ना हुन नसकेकी बबिता बाहिरिएर नजिकैको औषधि पसल अगाडि बसिन्। केही समयपछि प्रसव पीडाले च्यापेपछि आफन्तको सहयोगमा बुधबार बिहान करिब साढे २ बजे सडक पेटीमै उनले छोरालाई जन्म दिइन्।
बच्चा जन्मिएपछि परिवारले सालनालसहित शिशुलाई लिएर फेरि अस्पताल पुगेको र त्यहाँ पनि भर्ना नलिएको बबिताको दाबी छ। आफूलाई स्वास्थ्यकर्मीले अस्पतालबाट बाहिर जान धम्की दिएको उनको आरोप छ।
घटनाको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ र दोषीमाथि कारबाहीको मागसमेत उठेको छ।तर अस्पतालको पक्षले भने फरक दाबी गरेको छ।
अस्पतालका फ्रि हेल्थ सर्भिस फोकल पर्सन मनोज देवले बबिता राति अस्पताल आएपछि बेडमा भर्ना गरिएको र आवश्यक स्वास्थ्य परीक्षणका लागि ल्याब पठाइएको बताएका छन्। उनका अनुसार परिवार ल्याबबाटै बाहिरिएको र बच्चा जन्माइसकेपछि मात्र बिहान अस्पताल आएको दाबी छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले पनि आफूले भिडियो हेरेपछि घटनाबारे जानकारी पाएको र यस विषयमा छानबिनका लागि समिति गठन गर्न लागेको बताएका छन्।
सरकारी र निजी अस्पतालमा १० प्रतिशत विपन्न गरिबको लागि बेड छुट्याउने कानुनी व्यवस्था छ । तर संघीय सरकार अन्तर्गतको अस्पतालबाट नै प्रसव पीडाले छट्पटाइरहेकी महिलालाई लखेटिएको र फुटपाथमा शिशु जन्माउनु परेको यो घटनाले नेपालको स्वास्थ्य उपचार सेवाको प्रणालीलाई नै प्रशन गरेको छ ।


