सातदोबाटोमा बन्यो ४५ जेनजी सहिदको सालिकसहित ‘जेनजी पार्क’

एटुजेड समाचार

काठमाडौं  – ४५ जना जेनजी सहिदको सम्झनामा ललितपुरको सातदोबाटोमा ‘जेनजी स्मृति पार्क’ तयार भएको छ। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको यो पार्कमा गत वर्ष भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सहादत प्राप्त ४५ जनाको सालिक राखिएको छ।

करिब दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कलाई सहिदहरूको स्मृति, राष्ट्रियता र सामूहिक सम्झनासँग जोड्ने गरी डिजाइन गरिएको छ।

पार्कका आर्किटेक्ट करुण रिजालका अनुसार पार्कलाई ‘मिनिमल’ शैलीमा तयार गरिएको छ। सीमित ठाउँमा ४५ जना सहिदको सालिक राख्नुपर्ने भएकाले हरेक संरचनालाई अर्थपूर्ण बनाउने प्रयास गरिएको छ।पार्कको मुख्य आकर्षण भनेको नेपालको राष्ट्रिय झण्डा हो। सहिदहरूको सालिकको केन्द्र झण्डातर्फ पर्ने गरी डिजाइन गरिएको छ, जसले उनीहरूको बलिदानलाई राष्ट्रिय भावनासँग जोड्ने अवधारणा प्रस्तुत गर्छ।

पार्कमा साना सभा तथा कार्यक्रम गर्न सकिने खुला स्थानसँगै फूलबारी र हरियालीलाई पनि विशेष प्राथमिकता दिइएको छ।प्रवेश गर्नेबित्तिकै फरक अनुभूति होस् भन्ने उद्देश्यले लेभेन्डरसमेत रोपिएको छ, जसको सुगन्ध पार्कका विभिन्न दिशाबाट अनुभव गर्न सकिने गरी व्यवस्थापन गरिएको बताइएको छ।

गत फागुनदेखि निर्माण सुरु भएको यो पार्कको बुधबार औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।जेनजी आन्दोलनका सहिदहरूको बलिदान र योगदानलाई पुस्तौँसम्म सम्झनाका लागि निर्माण गरिएको यो पार्क अब सातदोबाटोको स्मृति स्थलका रूपमा रहनेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु