काठमाडौं – जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको छ । आन्दोलनले मुलुकको राजनीतिक वृत्तमा पुस्तान्तरण र परिवर्तनको बहसलाई तीव्र बनाए पनि त्यसको प्रत्यक्ष अनुभूति भने नागरिकको दैनिक जीवनमा अझै हुन नसकेको जेनजी अभियन्ता मिरज ढुंगानाले बताएका छन् ।
उनका अनुसार सत्ता परिवर्तन मात्रै वास्तविक परिवर्तन होइन, नागरिकको जीवनस्तर, रोजगारी, महँगी र जनजीविकामा सुधार आएपछि मात्रै परिवर्तनको अर्थ स्थापित हुन्छ ।
भदौ २३ गते जेनजी दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग विशेष कुराकानी गर्दै ढुंगानाले जेनजी आन्दोलनपछि मुलुकले राजनीतिक रूपमा ठूलो संक्रमण बेहोरे पनि अपेक्षित परिवर्तन भने अझै नागरिकको दैनिक जीवनमा अनुभूत हुन नसकेको बताए ।
बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले मानवीय क्षतिदेखि राष्ट्रिय परियोजना, सरकारी भवनलगायत धेरै क्षेत्रमा क्षति पुगेको बताए । विपद्को समयमा सरकारले उद्धार तथा राहतका काममा थप परिपक्वता देखाउनुपर्ने उनको भनाइ छ ।
‘घटना भएको तीन दिनपछि मात्र विदेशबाट उद्धार टोली ल्याउन अनुमति दिइयो र बाढी आएको करिब पाँच दिनपछि मात्रै उद्धार टोली यहाँ आउन पाए,’ उनले भने, ‘विगतका विपद् र महामारीका बेला राज्यले अपनाएका कदमबाट पाठ सिकेर उद्धार तथा राहतमा अझ छिटो निर्णय लिन सकिन्थ्यो ।’
‘जेनजी आन्दोलनलाई एउटै शब्दमा व्याख्या गर्न सकिँदैन’
ढुंगानाका अनुसार पछिल्लो एक वर्ष मुलुकका लागि निकै उथलपुथलपूर्ण रह्यो । विभिन्न आपत्कालीन अवस्था, राजनीतिक उतारचढाव र आन्दोलनका कारण जेनजी आन्दोलन तथा त्यसपछिको संक्रमणकाललाई एउटै दृष्टिकोणबाट व्याख्या गर्न नसकिने उनको भनाइ छ ।
उनले देशमा परिवर्तन आवश्यक भइसकेको महसुस भएकाले आन्दोलनमा सहभागी भएको बताए ।
‘यो देशले अब अग्रगामी छलाङ मार्नुपर्छ भन्ने समय आएको थियो । भइरहेको विधि र पद्धतिले देशलाई निकास दिन्छ भन्ने देखिएको थिएन,’ उनले भने, ‘त्यसैले सत्ता परिवर्तनको प्रकृतिको आन्दोलन आवश्यक थियो ।’
आन्दोलन तत्कालै हुन्छ भन्ने आफूहरूले नसोचे पनि परिस्थिति त्यही दिशामा अघि बढेको उनले बताए । उनका अनुसार आन्दोलनले पुस्तान्तरणको आधार तयार गर्नुका साथै नागरिकलाई राजनीतिप्रति थप चासो राख्ने बनाएको छ ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्कालीन आन्दोलनको प्रमुख ‘ट्रिगर’ बनेको उनको भनाइ छ ।
‘राज्यको व्यवहार ललिपप दिने र तत्काल अवस्था साम्य पार्ने भयो’
ढुंगानाले तत्कालीन सरकारसँग भएको जेनजी सम्झौतालाई पनि आलोचनात्मक रूपमा हेरेका छन् । उनका अनुसार राज्यले दीर्घकालीन समाधान खोज्नुको सट्टा तत्कालको अवस्था नियन्त्रणमा लिन ‘ललिपप’ दिने प्रवृत्ति देखाएको छ ।
‘राज्यको काम नै ललिपप दिने र तत्कालको अवस्था साम्य पार्ने जस्तो भयो,’ उनले भने, ‘हामीले त्यतिबेला सम्झौता ग¥यौँ, पछि त्यसप्रति चित्त नबुझेपछि विरोध पनि ग¥यौँ । अहिलेको सरकारले पनि ललिपप दिएको देख्छौँ। गणेश नेपाली र गरिमा चौधरीका विषयमा पनि सहमति भयो । यो ललिपपजस्तै भयो । राज्यको भूमिका त्यस्तै भयो, ललिपप दिने मात्र भयो ।’
उनले अहिलेको सरकारप्रति पनि यस्तै प्रवृत्ति देखिएको दाबी गरे । विभिन्न विषयमा तत्काल सहमति गर्ने तर त्यसलाई कार्यान्वयनमा लैजान नसक्ने अवस्था दोहोरिन नहुने उनको भनाइ छ ।
‘चुनावबाहेक सुशीला कार्की नेतृत्वको सरकारले धेरै केही गरेन’
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका बेला चुनाव सम्पन्न गर्नुबाहेक उल्लेखनीय काम हुन नसकेको ढुंगानाको टिप्पणी छ ।
उनले तत्कालीन सरकारसँग आफ्नो राजनीतिक सम्बन्ध आन्दोलनकारी पक्ष र राज्य पक्षका रूपमा विभाजित भएको बताए ।
तर अहिलेको सरकारलाई पनि जेनजीको सरकारका रूपमा स्वीकार गर्न आफू तयार नरहेको उनले स्पष्ट पारे ।
‘परिवर्तन भयो भन्ने कुरा जनजीविकामा देखिनुपर्छ’
ढुंगानाका अनुसार जेनजी आन्दोलनको मूल उद्देश्य केवल सत्ता परिवर्तन थिएन । नागरिकको जीवनमा वास्तविक सुधार ल्याउनु नै परिवर्तनको मुख्य मापदण्ड हुनुपर्ने उनको धारणा छ ।
‘म परिवर्तन भएको छ कि छैन भनेर आफ्नो जीवनस्तर हेर्छु । महँगी घटेको छ कि छैन, बाँच्न सहज भएको छ कि छैन, नागरिकले आफ्नै देशमा काम पाउने अवस्था बनेको छ कि छैन ?’ उनले प्रश्न गर्दै भने ।
उनका अनुसार अहिले पनि ठूलो संख्यामा युवा रोजगारीका लागि विदेश जान बाध्य छन् । श्रमिकको अवस्था, महँगी, घरभाडा तथा दैनिक उपभोगका वस्तुको मूल्यले नागरिकको जीवन कठिन बनाइरहेको उनको भनाइ छ ।
‘जब म जनजीविकामा सहजता देख्दिनँ, इन्टरनेटमा देखिएका विकासका दाबीका आधारमा देश परिवर्तन भयो भन्न तयार छैन,’ उनले भने ।
उनले इन्धनमा लाग्ने करदेखि राइड–हेलिङ क्षेत्रमा काम गर्ने श्रमिकको अवस्थासम्मलाई नागरिकको वास्तविक जीवनसँग जोडेर हेर्नुपर्ने बताए ।
‘उमेरका आधारमा विभेद नगरौँ’
सरकारलाई सुझाव दिँदै ढुंगानाले अनुभव भएका व्यक्तिलाई उमेरकै आधारमा पन्छाउन नहुने बताए ।
‘४० वर्ष कट्यो भन्दैमा सबैलाई काम नलाग्ने भन्न मिल्दैन । उनीहरूसँग अनुभव हुन्छ,’ उनले भने, ‘विपद्का अवस्थामा विगतमा के–कस्ता अभ्यास भएका थिए, त्यसबाट पनि सिक्नुपर्छ ।’
उनले अर्थतन्त्र र जनजीविकालाई सरकारको प्राथमिकतामा राख्नुपर्ने बताए । नागरिकले विदेश गएर मात्रै रोजगारी खोज्नुपर्ने बाध्यता अन्त्य गर्न सरकारले दीर्घकालीन नीति बनाउनुपर्ने उनको सुझाव छ ।
‘अहिलेको सरकारलाई जेनजीको सरकार भन्न तयार छैन’
ढुंगानाले वर्तमान सरकार गठनप्रति सुरुदेखि नै आफू उत्साहित नरहेको बताए । राजनीतिमा राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरू नै सक्रिय हुनुपर्ने आफ्नो धारणा रहेको उनले स्पष्ट पारे ।
‘म उहाँहरूलाई जेनजीको सरकार भन्न तयार छैन,’ उनले भने, ‘तर उहाँहरूले राम्रो काम गरून् भन्ने मेरो शुभकामना छ ।’
उनका अनुसार सरकारको नियत सही भए पनि कार्यान्वयनको क्षमता कमजोर भयो भने त्यसले अपेक्षित परिणाम दिन सक्दैन ।
‘इन्टेन्ट मात्रै भएर हुँदैन, काम कार्यान्वयन गर्ने सही ढङ्ग पनि चाहिन्छ,’ उनले भने ।
‘कार्की आयोगको प्रतिवेदनको पहिलो पानामै नाम बिगारिएको छ’
ढुंगानाले जेनजी आन्दोलनबारे बनेको कार्की आयोगको प्रतिवेदनप्रति समेत असन्तुष्टि व्यक्त गरे । प्रतिवेदनको पहिलो पानामै ‘GN ZÚ लेखिएको भन्दै उनले प्रतिवेदनप्रतिको आफ्नो विश्वास कमजोर भएको बताए ।
‘जेनजी आन्दोलनको नामसमेत सही लेख्न नसक्ने प्रतिवेदनको सामग्री कसरी पढ्ने भन्ने लाग्यो, त्यो जाबो जेन–जी आन्दोलन त मज्जाले लेख्न नसक्ने रहेछन् । मैंले त्यो प्रतिवेदन पढिन्, फ्याँकिदिएँ,’ उनले भने ।
यद्यपि मानव अधिकारसम्बन्धी प्रतिवेदन भने आफूलाई तुलनात्मक रूपमा भरपर्दो लागेको उनले बताए ।
‘२४ गतेका घटनामा छानबिन र कारबाही हुनुपर्छ’
ढुंगानाले आन्दोलनका क्रममा भएका हिंसात्मक तथा विध्वंसात्मक घटनामा निष्पक्ष छानबिन हुनुपर्ने बताए । विशेषगरी सार्वजनिक तथा ऐतिहासिक सम्पत्तिमा भएको क्षतिको जिम्मेवारलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको धारणा छ ।
‘सिंहदरबारदेखि देशका ऐतिहासिक धरोहरसम्म जलाउने काम भएको छ भने त्यसमा संलग्न व्यक्तिलाई दण्डहीनता दिनु हुँदैन,’ उनले भने ।
उनले यस्ता घटनामा कारबाही नगर्दा गलत नजिर बस्न सक्ने चेतावनी दिए ।उनको प्रस्तावमा त्यस्ता घटनाको छानबिनका लागि छुट्टै न्यायिक आयोग वा द्रुतगतिमा मुद्दा टुंग्याउने विशेष इजलास गठन गर्न सकिन्छ ।
तर आन्दोलनका क्रममा निर्दोष व्यक्ति पनि पक्राउ परेको हुन सक्ने भन्दै उनले उनीहरूको पनि शीघ्र छानबिन गरी निर्दोष भए तत्काल रिहा गर्नुपर्ने बताए ।
‘प्रतिशोधबाट राज्य चल्दैन’
राज्यले कसैप्रति प्रतिशोधको भावना राख्न नहुने ढुंगानाको भनाइ छ ।
‘राज्यले सबैलाई समान नजरले हेर्नुपर्छ । कसैले गलत गरेको छ भने कानुनी प्रक्रियाबाट अनुसन्धान, अभियोजन र कारबाही गर्नुपर्छ,’ उनले भने, ‘प्रतिशोध साँधेर राज्य चल्दैन ।’
आफूले राज्यमा प्रतिशोधको आभास पाएको उल्लेख गर्दै उनले यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।
‘सरकार काठमाडौंको कुनाबाट होइन, नागरिकको बीचबाट चल्नुपर्छ’
ढुंगानाका अनुसार सरकार वास्तविक जनजीवन बुझ्न नागरिकको नजिक पुग्नुपर्छ । काठमाडौंको एउटा कुनामा बसेर सामाजिक सञ्जालमा स्टाटस लेखेर मात्रै देशको वास्तविक अवस्था बुझ्न नसकिने उनको भनाइ छ ।
‘गरिब, मजदुर र निमुखा नागरिकको नजिक पुगेर उनीहरूको पक्षमा नीति बनाउनुपर्छ,’ उनले भने, ‘देशको वास्तविक अन्तरविरोध नबुझी विकासको परिकल्पना मात्रै गर्न सकिन्छ, त्यसलाई वास्तविकतामा बदल्न सकिँदैन ।’
वर्तमान सरकारप्रति आफू आशावादी रहेको तर अपेक्षित परिणाम नआए वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस हुन सक्ने उनले संकेत गरे ।
‘अहिले हामी आशावादी हौँ । यदि यो सरकार वा सत्तासीन दल सफल भएन भने हामी तेस्रो धारको परिकल्पना गर्दैछौँ,’ उनले भने ।
‘अहिले आन्दोलनको पक्षमा छैनौँ’
आफू फेरि आन्दोलन गर्न लागेको भन्ने सामाजिक सञ्जालमा फैलिएका हल्लाको ढुंगानाले खण्डन गरे । उनका अनुसार आफू आन्दोलनलाई ‘रोमान्टिसाइज’ गर्ने पक्षमा छैनन् ।
‘आन्दोलन भयो कि फेरि देश अस्थिर हुन्छ । काम कहिले गर्ने? आन्दोलन सधैँ गर्ने कुरा होइन,’ उनले भने ।
उनका अनुसार कुनै पनि देशमा आन्दोलन एउटा निश्चित परिस्थितिमा आवश्यक हुन सक्छ, तर निरन्तर सत्ता परिवर्तनका लागि आन्दोलन भइरहनु उचित हुँदैन ।
‘यदि आन्दोलन आवश्यक पर्ने अवस्था आयो भने त्यो समयले ल्याउने कुरा हो । मैले भनेर आन्दोलन हुने होइन,’ उनले भने ।
आफूले भदौ २३ र २४ गते पुनः आन्दोलन गर्न लागेको भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएकोप्रति ढुंगानाले असन्तुष्टि जनाए ।
उनले यस्तो प्रचारलाई आफूविरुद्धको गलत सूचना भएको बताए । सत्तासीन दलसँग जोडिएका ‘साइबर सेना’ले यस्तो प्रचार गरेको आफूले देखेको उनको दाबी छ । तर उनले अहिले आफू आन्दोलनको पक्षमा नरहेको दोहो¥याए ।
‘द्रुतगतिमा छानबिन होस्, निर्दोष छुटून्’
ढुंगानाले जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दाको अनुसन्धान र न्यायिक प्रक्रिया छिटो टुंग्याउनुपर्नेमा जोड दिए । उनका अनुसार अनुसन्धान नगरी सबैलाई छाड्ने र दोषी–निर्दोष छुट्याउन नसक्ने दुवै प्रवृत्ति गलत हुन् ।
‘प्रोसिक्युसन नगरी, ट्रायल नगरी सबैलाई छोड्ने कुरा हुँदैन । तर निर्दोष फसेका छन् भने उनीहरूलाई पनि छिटो न्याय दिनुपर्छ,’ उनले भने ।
उनले दोषी प्रमाणित भएकालाई कानुनअनुसार पूर्ण सजाय दिनुपर्ने बताए ।
‘सरकार पाँच वर्ष टिकेर काम गरोस्’
ढुंगाना वर्तमान सरकार पाँच वर्षसम्म टिकेर काम गरोस् भन्ने पक्षमा छन् । नेपालको राजनीतिक इतिहासमा सरकारहरू पूर्ण कार्यकाल टिक्न नसकेको उल्लेख गर्दै उनले यसपटक स्थिर सरकारको अपेक्षा गरेको बताए ।
‘जिम्मेवारी लिइसकेपछि पूरा गर्नुपर्छ । यो सरकार पाँच वर्ष नै टिकेर काम गरोस् भन्ने मेरो चाहना हो,’ उनले भने ।
तर पाँच वर्षमा पनि सरकारले अपेक्षित काम गर्न नसके सत्तारूढ दलका नेताहरू राजनीतिक रूपमा कमजोर हुने उनको दाबी छ ।
‘सरकार गठन भएको पाँच महिना मात्रै भएको छ, कथा अझै बाँकी छ’
जेनजी आन्दोलनपछि आफूले गरेका निर्णय र आफूविरुद्ध लागेका आरोप तथा गलत बुझाइबारे ढुंगानाले अहिले नै विस्तृत प्रतिक्रिया दिन आवश्यक नरहेको बताए ।
‘संक्रमणकाल निकै टर्बुलेन्ट थियो । धेरै आपत्कालीन निर्णय लिनुप¥यो । मेरो बारेमा विभिन्न किसिमका मिसअन्डरस्ट्यान्डिङ र आरोप पनि लगाइए,’ उनले भने, ‘तर केही भएको छैन । कथा अझै बाँकी छ ।’
यो सरकार गठन भएको पाँच महिना मात्रै भएकाले आगामी दिनमा घटनाक्रमहरू आफैँ स्पष्ट हुँदै जाने उनको भनाइ छ ।
उनका अनुसार जेनजी आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि भनेको पुस्तान्तरण र नागरिकमा राजनीतिप्रतिको बढ्दो चासो हो ।
‘एउटा पुस्तान्तरण भयो । अर्को, नागरिकहरू राजनीतिप्रति अझ बढी रुचि राख्न थाले । यी दुई कुरा आन्दोलनका प्रमुख देन हुन् जस्तो लाग्छ,’ उनले भने ।
‘सरकार जनताको नजिक पुग्नुपर्छ, काठमाडौंको कुनाबाट देश बुझिँदैन’
ढुंगानाले सरकार र नागरिकबीचको दूरी घटाउनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार देशको वास्तविक अवस्था बुझ्न सरकार जनताको बीचमा पुग्नुपर्छ । काठमाडौंको सीमित घेराभित्र बसेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदैमा मुलुकका वास्तविक समस्या र नागरिकले भोगिरहेका अन्तरविरोध बुझ्न नसकिने उनको तर्क छ ।
‘सरकार जनता र ग्राउन्डको नजिक हुनुप¥यो। काठमाडौंको एउटा कुनामा बसेर स्टाटस लेख्दैमा देशको वास्तविक अवस्था र यहाँका अन्तरविरोध बुझिँदैन,’ उनले भने, ‘त्यो नबुझी देश विकासको परिकल्पना मात्रै गर्न सकिन्छ, त्यसलाई वास्तविकतामा परिणत गर्न सकिँदैन ।’
उनले सरकारको प्राथमिकता गरिब, मजदुर तथा निमुखा नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए । नागरिकको दैनिक जीवनसँग जोडिएका समस्या पहिचान गरेर उनीहरूकै पक्षमा नीति तथा कार्यक्रम बनाउनुपर्ने उनको सुझाव छ ।
ढुंगानाको भनाइमा जेनजी आन्दोलनको मूल भावना पनि नागरिकको जीवनमा वास्तविक परिवर्तन ल्याउनु हो । त्यसैले सत्ता परिवर्तनलाई मात्र परिवर्तनको मापदण्ड मान्न नहुने र नागरिकले आफ्नो दैनिक जीवनमा अनुभूति गर्ने सुधार नै वास्तविक परिवर्तनको आधार बन्नुपर्ने उनको धारणा छ ।


