भ्रामक सूचना र घृणास्पद सामग्रीविरुद्ध प्रहरीको निगरानी कडा, एक जना पक्राउ

एटुजेड समाचार

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय सहिष्णुता भड्काउने सामग्री प्रसारण गर्नेहरूविरुद्ध प्रहरीले निगरानी बढाउँदै कारबाही तीव्र पारेको छ। यसै क्रममा भोटेकोशी बाढीको क्षतिलाई लिएर लक्षित समुदायलाई अपमान गर्ने र विपत्तिमा खुसी व्यक्त गर्दै भिडियो (रिल) बनाएको आरोपमा बैतडी सुर्नयाका २४ वर्षीय वीरेन्द्र मडैलाई साइबर ब्युरोले चन्द्रागिरि–१२ बलम्बुबाट पक्राउ गरेको छ।

प्राकृतिक विपत्तिको संवेदनशील घडीमा पीडित नागरिकलाई थप पीडा दिने, त्रास फैलाउने र घृणास्पद सामग्री पोस्ट गर्नेहरूविरुद्ध शून्य सहनशीलताको नीति लिइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले अराजक मानसिकता बोकेर विभत्स तस्बिर र भ्रामक सूचना सेयर गर्नेहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको बताए।

प्रहरीको तथ्याङ्क अनुसार सामाजिक सञ्जालमा १७३ वटा गलत र भ्रामक सामग्री प्रसारण भएको पाइएको छ, जसमा फेसबुकमा १६८, टिकटकमा ४ र इन्स्टाग्राममा १ वटा सामग्री छन्। तीमध्ये साइबर सक्रियतामार्फत फेसबुकका ७९ र टिकटकका ४ वटा सामग्री हटाइसकिएको छ।

सामाजिक सञ्जालको भ्रामक सामग्री नियन्त्रण र अनुगमनका लागि साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी) गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय विशेष समिति गठन गरिएको छ। उक्त समितिले अञ्जानमा सेयर गरिएका सामग्रीको गाम्भीर्यता हेरेर सचेत गराउने तथा नियतवश भ्रामक सूचना र राहत सङ्कलनका नाममा ठगी गर्नेहरूमाथि कारबाही अघि बढाउने डिएसपी आचार्यले जानकारी दिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु