बाढीको १२औँ दिन अपर त्रिशूली–१ को सुरुङमा दुई शव फेला

एटुजेड समाचार

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा दुई वटा शव फेला परेको छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीका अनुसार आइतबार सुरुङको भित्री भागमा खोजी गर्ने क्रममा दुई वटा शव फेला परेको हो। फेला परेका शवको पहिचान भने अहिलेसम्म हुन सकेको छैन ।

अधिकारीले सुरुङको भित्री भागबाट शव फेला परेको जानकारी दिएका छन्। सोही सुरुङबाट शनिबार एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो। उनलाई सुरुङभित्र करिब २२५ मिटरको दूरीबाट उद्धार गरिएको थियो ।

चिनियाँ नागरिकको जीवितै उद्धार भएपछि सुरुङमा अझै कोही फसेका छन् कि छैनन् भन्नेबारे खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। अहिले पनि सुरुङभित्र खोजी कार्य जारी रहेको आयोजनाले जनाएको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासहित विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको थियो। बाढीले जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्‍याएको छ ।

बाढी आएको आज १२औँ दिनमा अपर त्रिशूली–१ को सुरुङमा दुई शव फेला परेका हुन् । शव कसको हो भन्नेबारे पहिचान तथा थप विवरण आउन बाँकी छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु