गोरखा। जिल्लाको उत्तरी हिमाली क्षेत्रस्थित चुमनुब्री गाउँपालिका-४ र २ भएर बग्ने थेराङ खोलामा आएको भीषण बाढीले चारवटा घर र एक झोलुङ्गे पुल बगाएको छ।
आज बिहान लेदोसहित आएको बाढीले चुमनुब्री-४ नाम्रुङका नुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएर क्षति पुर्याएको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठका अनुसार बाढी आएको समयमै थाहा पाएर स्थानीयवासी सुरक्षित स्थानतर्फ भाग्न सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।
बाढीले सोही क्षेत्रमा रहेको मुख्य झोलुङ्गे पुलसमेत बगाएको छ। पुल बगेपछि प्रसिद्ध मनास्लु पदयात्रामा निस्किएका पर्यटकहरू र स्थानीय बासिन्दाको आवतजावत ठप्प भई समस्या सिर्जना भएको छ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पदयात्री तथा स्थानीयलाई तत्कालका लागि आउजाउ सहज बनाउन अल्पकालीन र वैकल्पिक उपायहरू अपनाइने जानकारी दिए।
खोलाको मुहान भेगतिर केही बेर पहिरो वा पहिराको लेदोले बहाव थुनिएर एक्कासि फुटेपछि क्षति पुगेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
थेराङ खोला अगाडि बढेर बूढीगण्डकी नदीमा मिसिने भएकाले बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।


