पृथ्वी राजमार्गको परेवाभिरमा सडक मर्मत गरिँदै, आज १२ घण्टा सवारी आवागमन बन्द

एटुजेड समाचार

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा मर्मत गर्न यही भदौ २० गते शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङद्वारा शुक्रबार जारी सूचनामा यही भदौ २० गते शनिबार बिहान ६ देखि साँझ ६ बजेसम्म उक्त सडकखण्डमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

यही भदौ १० भोटेकोशीसहित त्रिशुली नदीमा आएको बाढीका कारण परेवाभिरस्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सडकखण्डबाट एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुँदै आएका थिए। क्षतिग्रस्त सडकको आवश्यक मर्मत गर्न सवारी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ।

बाढीका कारण धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्ण भिरमा पूर्ण रूपमा सडक अवरुद्ध भएको छ भने बेनिघाट १० जवाङखोला र थाक्रे २ को कमेरेभिरमा एकतर्फी सडक सञ्चालनमा रहेको छ।

एकतर्फी सडकमा मात्र सवारी सञ्चालन हुँदै आएको गजुरी–२ परेवाभिरमा शनिबार आवागमन पूर्ण रूपमा बन्द गरी सडक मर्मत गरिने भएको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु