भरतपुर – नेपाल नेत्रज्योति संघ हिरालाल सन्तुदेवि नेत्र विज्ञान अध्यायन सस्थान भरतपुर आँखा अस्पताल परिवारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गरेको छ ।
अस्पतालले बाढी पीडितलाई सहयोग स्वरुप नेपाल नेत्रज्योति संघ केन्द्रिय समिति मार्फत १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
विपत्तिमा परेका नागरिकको पीडामा मल्हम लगाउने उद्देश्यका साथ नेपाल नेत्रज्योति संघ चितवन शाखाका पदाधिकारी तथा सदस्यहरुको तर्फवाट ३ लाख ५९ हजार ४७ रुपैँया, भरतपुर आँखा अस्पतालको तर्फवाट ८ लाख १० हजार ६ सय ६३ रुपैँया, अस्पतालका कर्मचारीहरुको तर्फवाट ३ लाख ८५ हजार ८ सय ४४ रुपैँया गरी उक्त रकम योगदान गरिएको हो ।
अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने उदेश्यले केन्द्रिय समितिलाई सहयोग हस्तान्तरण गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै भरतपुर आँखा अस्पतालले राष्ट्रिय संकट समाधानमा हातेमालो गरेको भरतपुर आँखा अस्पतालका अध्यक्ष जयराम श्रेष्ठले जानकारी दिनु भयो ।
विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको अस्पतालका वरिष्ठ अस्पताल प्रशासक दया शंकर चौधरीले वताउनु भयो ।
अस्पतालले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।


