चितवन – रसुवा बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले चितवनका युवा सुनचाँदी व्यवसायी विकास वर्माले ३ लाख १ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।
नारायणगढस्थित आधुनिक सुनचाँदी पसलका सञ्चालक तथा नेपाल सुनचाँदी व्यवसायी संघ, चितवनका निवर्तमान प्रवक्ता वर्माले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो।
रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि मानवीय सहयोग आवश्यक भइरहेका बेला वर्माले व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्नुभएको हो। विपद्को कठिन अवस्थामा पीडित परिवारको साथमा उभिँदै राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको वर्माले बताउनुभएको छ।
विपद्का बेला निजी क्षेत्र तथा व्यवसायीबाट प्राप्त सहयोगले प्रभावित नागरिकको राहत र पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
वर्माको सहयोगप्रति नेपाल सुनचाँदी व्यवसायी संघ, चितवनले हार्दिक धन्यवाद तथा विशेष आभार व्यक्त गरेको छ। संघले विपद्का बेला मानवीय सेवामा देखाएको सक्रियता र सामाजिक उत्तरदायित्वका लागि वर्माको प्रशंसा समेत गरेको छ।


