चितवन – अब क्यान्सर अस्पतालमा टिकट काट्न लामो लाइन बस्नुपर्ने झन्झट हट्ने भएको छ। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अब घरमै बसेर अनलाइनबाटै ओपीडी टिकट काट्न सकिने भएको छ। चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीको सहजताका लागि अनलाइन ओपीडी टिकटको व्यवस्था सुरु गरेको हो।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार अब अस्पताल आउने नयाँ तथा पुराना दुवै बिरामीले मोबाइल वा कम्प्युटरबाट घरमै बसेर ओपीडी टिकट लिन सक्नेछन्।यसका लागि अस्पतालको वेबसाइटमा गएर ‘अनलाइन टिकट’ मा क्लिक गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।त्यस्तै, एन्ड्रोइड एपमार्फत पनि अनलाइन टिकट लिन सकिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
अनलाइन टिकट लिँदा टिकटको शुल्कसमेत अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ। तर अनलाइन टिकट लिएपछि अस्पताल पुगेर काम सकिने भने होइन।अनलाइन टिकट लिएका बिरामीका लागि अस्पतालमा छुट्टै काउन्टरको व्यवस्था गरिएको छ, जहाँबाट टिकट प्रिन्ट गर्न सकिनेछ।
टिकट प्रिन्ट गरिसकेपछि पनि बिरामीले आफ्नो नम्बर लगाउनुपर्ने हुन्छ। पुराना बिरामीको अस्पतालमा रहेको फाइल खोज्न र नयाँ बिरामीको फाइल बनाउन नम्बर लगाउनुपर्ने अस्पतालले जनाएको छ।
क्यान्सरका बिरामी लामो समयसम्म फलोअपमा आउने भएकाले अस्पतालले उनीहरूको फाइल सुरक्षित राख्ने गरेको छ। दैनिक १ हजारदेखि १ हजार ५ सयसम्म बिरामी ओपीडीमा आउने अस्पतालमा टिकट काउन्टरमा चापका कारण भीड हुने गरेको थियो।
अब अनलाइन टिकटको व्यवस्था भएपछि बिरामीलाई सहज हुनुका साथै टिकट काउन्टरमा हुने भीडसमेत घट्ने अस्पतालको अपेक्षा छ। अब क्यान्सर अस्पतालमा उपचारका लागि जाने बिरामीले घरबाटै टिकट काट्न सक्नेछन्।
प्रविधिको प्रयोगसँगै अस्पतालको सेवा पनि थप सहज बन्दै गएको छ।


