चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ को व्यवस्थापन, सनाखतका लागि डीएनए परीक्षण सुरु

एटुजेड समाचार

चितवन । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका शवमध्ये हालसम्म ३३५ वटा शवको व्यवस्थापन गरिएको छ। तीमध्ये १२९ वटा शवको लिङ्गसमेत पहिचान हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म जिल्लामा ३४८ वटा शव फेला परेका छन्। तीमध्ये ३३५ शवको व्यवस्थापन भइसकेको छ भने १२ शवको सनाखत भएको छ। एउटा शव व्यवस्थापन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

सनाखत हुन नसकेका शवलाई भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गलमा अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गरिएको हो। शव व्यवस्थापन गर्न कठिन भएपछि डीएनए नमूना सुरक्षित राखेर शनिबारदेखि उक्त स्थानमा शव व्यवस्थापन गर्न थालिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शनिबार ९६, आइतबार १०३, सोमबार ८१ र मंगलबार ५५ वटा शव व्यवस्थापन गरिएको थियो। जमिनमुनि व्यवस्थापन गरिएका शवमध्ये १२९ वटा लिङ्ग पहिचान नभएका छन्। यस्तै पुरुष १०७, महिला ७३, बालिका १५ र बालक ११ जनाको शव रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले शवको डीएनए नमूना सुरक्षित राखेर अस्थायी रूपमा व्यवस्थापन गरिएको जानकारी दिए। सनाखत भएका शव भने कानुनी प्रक्रिया पूरा गरी परीक्षणपछि परिवारलाई बुझाइएको छ।

नदी किनार तथा विभिन्न क्षेत्रमा शव फेला पर्ने क्रम अझै जारी रहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा शव खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ।

सनाखतका लागि आफन्तको डीएनए नमूना सङ्कलन

बाढीपछि फेला परेका शवको पहिचान गर्न चितवनमा आफन्तको डीएनए नमूना सङ्कलन सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालयले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा इकाइ र जनस्वास्थ्य कार्यालयको सहयोगमा भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मंगलबारदेखि नमूना सङ्कलन थालेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म डीएनए नमूना सङ्कलन भइरहेको छ।

हराइरहेका व्यक्तिसँग पहिलो तहको नाता पर्ने आफन्तमध्ये बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमूना सङ्कलन गरी डीएनए परीक्षण गरिनेछ। नमूना दिन आउने आफन्तले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात र दुईप्रति पासपोर्ट आकारको फोटो ल्याउन प्रहरीले अनुरोध गरेको छ।

नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलका अनुसार हराइरहेका व्यक्तिको पहिचानका लागि शवबाट मुख्य रूपमा दाँत र हड्डीका नमूना सङ्कलन गरिएको छ। ती नमूनाबाट डीएनए प्रोफाइल तयार गरी आफन्तबाट सङ्कलन गरिएको डीएनएसँग मिलान गरेर शवको पहिचान गरिनेछ।

पहिलो प्राथमिकतामा बुबाआमा वा छोराछोरीको डीएनए नमूना आवश्यक पर्ने र उनीहरू उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमूनाबाट पनि परीक्षण गर्न सकिने प्रहरीले जनाएको छ।

नेपालमा उपलब्ध प्रयोगशाला क्षमता र आवश्यक परे वैदेशिक सहयोगसमेत परिचालन गरी कम्तीमा १२ हप्ता अर्थात् तीन महिनाभित्र सबै नमूनाको परीक्षण तथा डीएनए म्याचिङ सम्पन्न गर्ने लक्ष्य राखिएको प्रहरी निरीक्षक पोखरेलले बताए।

विदेशमा रहेका आफन्तले पनि नमूना दिन सक्ने

चितवन बाहिर रहेका आफन्तले आफू बसेको जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए नमूना दिन सक्ने व्यवस्था गरिएको छ।

विदेशमा रहेका आफन्तका लागि पनि डीएनए परीक्षण प्रक्रियामा सहभागी हुने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। विदेशमा रहेका पहिलो तहका आफन्तले सम्बन्धित देशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत नमूना उपलब्ध गराउन सक्नेछन्। त्यस्तै नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आफ्नो डीएनए प्रोफाइलको ‘सफ्ट कपी’ पठाएर पनि प्रक्रियामा सहभागी हुन सकिने जनाइएको छ।

अस्थायी शव व्यवस्थापनस्थलमा दीप प्रज्ज्वलन

भरतपुर महानगरपालिका–१ देवघाटस्थित जङ्गलमा अस्थायी रूपमा शव व्यवस्थापन गरिएको स्थानमा मंगलबार साँझ दीप प्रज्ज्वलन गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, अस्पतालका प्रमुख तथा सर्वसाधारणको सहभागिता थियो। विभिन्न समुदायका नागरिकले दीप प्रज्ज्वलन गरी हालसम्म उक्त स्थानमा व्यवस्थापन गरिएका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

रामजानकी बालिका आश्रम देवघाटका कन्याहरूले गीता पाठ गर्दै दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। विभिन्न धार्मिक समुदायका प्रतिनिधिले पनि कार्यक्रममा सहभागी भएर मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरे।

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीप प्रज्ज्वलन गर्दै दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे।

अधिकारीहरूले देवघाटको उक्त स्थानलाई अन्तिम संस्कारस्थल नभई शवको पहिचान नहुँदासम्मका लागि अपनाइएको ‘अस्थायी व्यवस्थापनस्थल’ मात्र भएको स्पष्ट पारेका छन्। उक्त क्षेत्रलाई १२ वर्षसम्म अस्थायी शव व्यवस्थापनस्थलका रूपमा प्रयोग गरिने जनाइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु