चितवन – बौदीकाली गाउँपालिका–१ स्थित दुर्गम मिथुकराम गाउँमा खानेपानी तथा सरसफाइ परियोजनाको शिलान्यास गरिएको छ। रोटरी क्लब अफ चितवनको आयोजनामा सोमबार (भदौ १५ गते) आयोजित कार्यक्रममा ‘मिथुकराम खानेपानी तथा सरसफाइ परियोजना’को शिलान्यास गरिएको हो।
रोटरी इन्टरनेसनलको ग्लोबल ग्रान्टअन्तर्गत सञ्चालन हुने परियोजनाले मिथुकराम गाउँका १३० परिवारलाई सुरक्षित खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ चितवनका अध्यक्ष रो. गेहेन्द्रमान श्रेष्ठले गरेका थिए। परियोजनाको पहिलो सम्पर्क व्यक्ति तथा सेवा परियोजना संयोजक रो. इन्जिनियर गुणेश्वर महतो रहेका छन्।
चुरे पहाडको उच्च क्षेत्रमा रहेको मिथुकराम गाउँ भरतपुरबाट करिब ६१ किलोमिटर पश्चिम तथा दुम्किबास/दलदले क्षेत्रबाट करिब २९ किलोमिटर उत्तरमा अवस्थित छ। गाउँमा करिब १३० परिवारको बसोबास रहेको छ भने दलित, मगर तथा नेवार समुदायको बाहुल्यता छ। अधिकांश परिवार कृषि तथा दैनिक ज्यालादारीमा निर्भर छन्।
३५ मिनेट हिँडेर पानी ल्याउनुपर्ने बाध्यता
हाल गाउँका स्थानीय ढुंगेधारा, अस्थायी पानीका स्रोत तथा अस्थायी पाइपमार्फत आउने पानीमा निर्भर छन्। गाउँभन्दा करिब ३५ मिटर तल रहेका दुईवटा मुहानबाट पानी ल्याउन स्थानीयवासीले करिब ३५ मिनेटसम्म हिँड्नुपर्ने अवस्था छ।
वर्षायाममा मुहानको पानी अत्यधिक धमिलो हुने र सुख्खा मौसममा मुहान सुक्ने भएकाले गाउँमा खानेपानीको समस्या झन् गम्भीर हुने गरेको छ। सुख्खा महिनामा स्थानीयवासी नजिकका खोला तथा अन्य अस्थायी पानीका स्रोतमा समेत निर्भर हुनुपर्ने अवस्था रहेको परियोजनाले जनाएको छ।
यस समस्याको दीर्घकालीन समाधानका लागि सञ्चालन हुन लागेको परियोजनाको कुल अनुमानित लागत ४८ हजार ५६ अमेरिकी डलर रहेको छ।
परियोजनाअन्तर्गत गाउँका सबै १३० घरधुरीमा सुरक्षित तथा प्रशोधित खानेपानी निजी धारामार्फत पुर्याइनेछ। साथै, सौर्य–हाइब्रिड पम्पिङ प्रणाली स्थापना गर्ने, २० हजार लिटर क्षमताको सम्पवेल निर्माण गर्ने र उकालो क्षेत्रमा रहेको ४० हजार लिटर क्षमताको पानी ट्याङ्की मर्मत गर्ने योजना छ।
त्यसैगरी, आयमूलक गतिविधिसँगै स्वच्छता तथा सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिनेछ। परियोजनामा रोटरी क्लब अफ चितवनको क्लब योगदान ३ हजार १५० अमेरिकी डलर रहेको छ भने बौदीकाली गाउँपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्नेछ।
स्वच्छता व्यवहारमा सुधार गर्ने लक्ष्य
परियोजनाले सुरक्षित खानेपानीको पहुँच विस्तारसँगै स्थानीय समुदायमा दीगो स्वच्छता तथा सरसफाइसम्बन्धी व्यवहार विकास गर्ने लक्ष्य लिएको छ।
मिथुकराम गाउँ करिब एक दशकअघि नै खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको भए पनि सुरक्षित खानेपानी र स्वच्छता व्यवहारलाई थप सुदृढ बनाउन आवश्यक रहेको परियोजनाले जनाएको छ।
कार्यक्रममा रोटरी क्लब अफ चितवनका ग्लोबल ग्रान्ट समितिका अध्यक्ष तथा निर्वाचित अध्यक्ष रो. राजन पियाले परियोजनाको पृष्ठभूमि, उद्देश्य, कार्यान्वयन प्रक्रिया तथा ग्लोबल ग्रान्टअन्तर्गत परियोजनाले पार्ने प्रभावबारे जानकारी दिएका थिए।
परियोजनाको अन्तर्राष्ट्रिय साझेदारका रूपमा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ११६०, उत्तरी आयरल्यान्ड तथा आयरल्यान्ड रहेको छ भने निडिजी साझेदारका रूपमा रहेको छ।
कार्यक्रममा रोटरी क्लब अफ चितवनका अध्यक्ष रो. गेहेन्द्रमान श्रेष्ठ, ग्लोबल ग्रान्ट कमिटीका संयोजक तथा क्लबका निर्वाचित अध्यक्ष रो. राजन पिया, परियोजनाको पहिलो सम्पर्क व्यक्ति तथा सेवा परियोजना संयोजक रो. इ. गुणेश्वर महतोको उपस्थिति थियो।
त्यस्तै, निडिजीका प्रमुख कार्यकारी अधिकृत श्वेता खड्का तथा परियोजना संयोजक आदित्य पौडेललगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
परियोजनाले मिथुकरामका १३० परिवारलाई सुरक्षित खानेपानी तथा सरसफाइको पहुँचमा ल्याउँदै उनीहरूको जीवनस्तरमा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ। रोटरीको ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने मूल भावनालाई समुदायस्तरमा सार्थक बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।


