चितवन – चितवनमा फेला परेका शवहरुलाई जमिन भित्र व्यवस्थापन गरिने भएको छ । डिएनएन परीक्षणका लागि नमुना संकलन पछि आजबाट नै शवलाई जमिनमुनी गाड्ने काम अघि बढाइने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
रसुवामा आएको बाढीबाट चितवनसम्म आइपुगेका शवहरुको व्यवस्थापनमा चुनौति देखापरेको थियो । शव सड्ने, दुर्गन्ध फैलिने संभावना देखिएपछि आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन पहिलो संशोधन, निर्देशिका–२०८३ बमोजिम सबै शवहरु जमिनमुनी व्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । शवहरुको डिएनए नमुना शंकलन गरि संकेत नम्बरको आधारमा अभिलेख राख्ने गरि भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थापनमा व्यवस्थापन गरिने छ ।
गत भदौ १० गते रसुवामा आएको बाढीका कारण चितवनमा हालसम्म २३३ वटा शव फेला परेको छ । ती मध्ये ४ वटा मात्रै शव सनाखत भएको छ । बाँकी २२९ वटा शवहरु अस्पताल र होल्डिङ सेन्टरमा राखिएका छन् । चितवन उद्योग संघसंगै जोडिएको औद्योगिक प्रष्ठिानमा रहेका ८० वटा शवको डिएनए नमुना संकलन भइसकेको छ । पहिलो चरणमा त्यहाँ राखिएको शव देवघाटमा व्यवस्थापन गरिने छ ।


