बाढीले कोरला सडक क्षतिग्रस्त, उपल्लो मुस्ताङ जाने यात्रुलाई सास्ती

एटुजेड समाचार

मुस्ताङ – अविरल वर्षापछि आएको बाढीले कोरला सडकमा क्षति पुर्‍याएपछि उपल्लो मुस्ताङ जाने यात्रु तथा पर्यटकले सास्ती खेप्नुपरेको छ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित मुस्ताङ द्वार नजिकैको चैलेमा बाढीले सडकको ट्र्याक पूर्णरूपमा क्षति पुर्‍याएको हो। बुधबार राति परेको भारी वर्षापछि आएको बाढीले सडक बगाएपछि यातायात आवागमन प्रभावित भएको छ।

क्षतिग्रस्त सडक खुलाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले उपकरण परिचालन गरी बिहीबारदेखि मर्मत तथा सडक खुलाउने काम थालेको छ। सडक खुलाउने प्रयास भइरहे पनि वर्षा जारी रहेकाले यात्रु तथा सवारीसाधनलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था देखिएको छ।

यसैगरी वर्षाका कारण कोरला सडकअन्तर्गत पर्ने समर र झो खोलामा समेत साना खोल्साबाट आएको बाढीले सडकमा क्षति पुर्‍याएको छ। विभिन्न स्थानमा सडक क्षतिग्रस्त भएपछि उपल्लो मुस्ताङतर्फ जाने स्थानीय, पर्यटक तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्।

सडक अवरुद्ध हुँदा यात्रुहरूलाई गन्तव्यसम्म पुग्न समस्या भएको छ भने सडक खुलाउने काममा समेत निरन्तरको वर्षाले चुनौती थपेको छ। सम्बन्धित निकायले क्षतिग्रस्त सडकको अवस्था हेरेर आवश्यक स्थानमा उपकरण परिचालन गर्दै सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु