काठमाडौंः केन्यामा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा इक्वेडरका गुप्तचर प्रमुख मिसेल सेन्सी–कोन्टुगी र उनकी श्रीमती स्टेफानी होलिहानसहित सात जनाको मृत्यु भएको छ।
अमेरिकी विदेश विभागका एक प्रवक्ताले दुर्घटनामा पाँच अमेरिकी नागरिकको पनि मृत्यु भएको बताएका छन्। उत्तरी केन्याको सम्बुरु काउन्टीमा पर्यटक बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो। हेलिकोप्टरमा चालकसहित सात जना सवार थिए र दुर्घटनामा सबैको मृत्यु भएको केन्याली अधिकारीहरूले जनाएका छन्।
हेलिकोप्टर लोइसाबा कन्जर्भेन्सीबाट इवासो न्यिरो क्षेत्रतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार बुधबार बिहान ९ः१३ बजे दुर्घटनामा परेको थियो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकोप्टर लुइसाबाको एक संरक्षित वन्यजन्तु क्षेत्रमा रहेको स्थानबाट इवासो न्यिरो नदीतर्फ हवाई यात्रामा निस्किएको थियो। इवासो न्यिरो केन्याका विभिन्न क्षेत्र हुँदै बग्ने प्रमुख नदी हो।
प्राधिकरणले केन्याको यातायात मन्त्रालय र हवाई दुर्घटना अनुसन्धान विभागले घटनाको अनुसन्धान गर्ने जनाएको छ। अनुसन्धानमा हेलिकोप्टर दुर्घटनामा पर्नुको कारण र त्यसपछाडिका सम्पूर्ण परिस्थितिबारे अध्ययन गरिने प्राधिकरणले उल्लेख गरेको छ।


