बाल गायक अशोक दर्जी पछिल्लो समय गायनसँगै फिल्म अभिनयमा पनि सक्रिय छन् । ७ वर्षअघिको आफ्नै चर्चित गीत ‘मन बिनाको धन’को नाममा बनेको फिल्मबाट डेब्यू गरेका उनले त्यसपछि ‘पार्वती’मा मुख्य भूमिकामा अभिनय गरे । यो फिल्म रक्षा बन्धनको अवसर पारेर भदौ १२ गतेबाट प्रदर्शन हुँदैछ । यसमा उनी अभिनेत्री नीता ढुंगानाको भाइको भूमिकामा छन् ।
अब अशोक फिल्म निर्माण गर्ने योजनामा समेत छन् । हालै एक पोडकास्टमा ‘पार्वती’को प्रचारका लागि पुगेका उनले फिल्मको स्क्रिप्ट आफैँले लेखिरहेको बताए । उनले भने, ‘अब मलाई एउटा फिल्म बनाउने इच्छा छ । त्यसका लागि केही समयदेखि आफैँ स्क्रिप्ट पनि लेखिरहेको छु । फिल्मको नाम ‘अधुरो बाटो’ हुनेछ । यो नाम चाँडै दर्ता गर्ने सोचमा छु ।’
फिल्ममा आफ्नो र परिवारको वास्तविक कथा आउने पनि उनले स्पष्ट पारे । ‘अहिले स्क्रिप्ट लेखेर राख्दा भोलिको दिनमा कोही आएर लगानी गर्छु भन्नुभयो भने मेरो र परिवारको वास्तविक कथा के थियो भन्ने दर्शकले अझ थाहा पाउनुहुनेछ,’ उनले भने । उनले आफूले लेखेको शब्दमा एउटा गीत समेत तयार गर्न लागेको बताए । उनका अनुसार गीतको बोल ‘तिमी नै धोकेबाज’ हो ।
८ वर्ष काठमाडौंमा बसेर अध्ययन गरेका अशोक ‘मन बिनाको धन’ रिलिजपछि परिवारको रेखदेखका लागि अहिले झापाको दमकमा बस्दै आएका छन् । काठमाडौंमा रहँदा उनी संगीतकार टंक बुढाथोकीको संरक्षणमा थिए । घर फर्किएपछि उनले आफ्नै हिसाबले काम गरिरहेका छन् । स्रोतका अनुसार उनी चाँडै ‘मन बिनाको धन २’मा पनि देखिने तयारीमा छन् ।


