काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन्।
बुधवार सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्रीहरूको कार्यक्षमतालाई लिएर केही प्रश्न उठेका भए पनि अहिले नै मन्त्री फेरबदल गर्ने पक्षमा आफूहरू नरहेको बताए।
सरकारलाई प्रश्न गर्ने अधिकार सबैसँग रहेको र रास्वपाका सांसदहरूले पनि प्रश्न सोध्ने गरेको उल्लेख गर्दै उनले त्यसलाई मन्त्री परिवर्तनसँग जोडेर हेर्न नहुने धारणा राखे। रास्वपाभित्र प्रश्न गर्ने र त्यसको जवाफ खोज्ने परिपाटी रहेको दाबी उनले गरे।
सभापति लामिछानेले आफू र प्रधानमन्त्री बालेन्द्र साहबीच कुनै मतभेद वा विवाद नरहेको समेत स्पष्ट पारे। दुई नेताबीच विवाद रहेको समाचारले आफूहरूलाई झन् नजिक ल्याउने टिप्पणी उनले गरे। प्रधानमन्त्री साहले सामाजिक सञ्जालमा ‘एक्लै लडिरहेको छु’ भनेर लेखेका विषयलाई राजनीतिक अर्थमा व्याख्या गर्न नहुने उनको भनाइ छ। प्रधानमन्त्री कलाकार र कवि पनि भएकाले उनका अभिव्यक्तिका प्रत्येक शब्दमा राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको र सिङ्गो पार्टी प्रधानमन्त्रीसँगै उभिएको जिकिर उनले गरे।
सम्बन्ध र मतभेदबारे स्पष्ट पार्दै लामिछानेले भने, ‘प्रधानमन्त्रीले लेख्नुभएको विषय अर्कै हो, उहाँ त एउटा पोएट र कलाकार पनि हो नि त। एउटा कविको यत्रो भीडमा पनि मैले एक्लो महसुस गर्न सक्दिन र? यत्रो सिङ्गो पार्टी उहाँसँग उभिएको छ, कहाँ हुनुहुन्छ एक्लो? त्यसमा चिन्ता हुनुपर्दैन। हाम्रा बीचको समाचारले हामीलाई अझ बढी नजिक ल्याउन मद्दत गर्छ।’
केन्द्रीय समितिलाई पूर्णता दिने प्रक्रिया पनि तत्काल सम्पन्न गर्नुपर्ने विषय नभएको र पाँच वर्षभित्र क्रमशः अघि बढाउने कार्ययोजना रहेको जानकारी उनले दिए। महाधिवेशनपछि पार्टीभित्रको समायोजन प्रक्रिया सकिसकेकाले विधानले सभापतिलाई दिएको अधिकारअनुसार योग्य व्यक्तिहरूलाई क्रमशः जिम्मेवारीमा ल्याइने उनले बताए। पार्टीभित्र दुई धार वा गुट रहेको भन्ने दाबीलाई अस्वीकार गर्दै उनले रास्वपाभित्र कुनै गुट नरहेको दाबी गरे।
आफू र प्रधानमन्त्री साहबीचको सम्बन्ध व्यक्तिगत बाचा नभई देश र इतिहासप्रतिको साझा प्रतिबद्धता भएको लामिछानेले बताए। देशको भविष्य र इतिहासप्रति जिम्मेवार भएर सरकारले काम गरिरहेको दाबी गर्दै सामान्य घटनालाई लिएर राजनीतिक सम्बन्ध बिग्रिएको निष्कर्ष निकाल्नु अनुचित हुने उनले बताए।
सम्बन्धको संवेदनशीलता दर्शाउँदै लामिछानेले थपे, ‘यो रविले बालेनलाई, बालेनले रविलाई गरेको बाचा होइन। इतिहासलाई र देशलाई हामीले सँगै बसेर गरेको वाचा हो। यहाँ यस्ता सामान्य कुराहरूले यत्रो पोलिटिकल र हिस्टोरिक कमिटमेन्ट बिग्रियो भन्नु घरमा साथीभाइसँग सानो कुरामा नमिलेर जिस्किएको जस्तो हो र? हामी नापेर जोखेर कुराकानी गर्दैनौँ, हामीमा कुनै किसिमको कन्फ्युजन पनि छैन।’
सरकारले राम्रोसँग काम गरिरहे पनि व्यवस्थापनमा केही कमजोरी देखिएको उनले स्वीकार गरे। ग्यासमा हाल देखिएको अभावलाई सरकारको असफलतासँग जोडेर हेर्न नहुने र राम्रो काम गर्दागर्दै पनि कहिलेकाहीँ समस्या देखिने गरेको उनले बताए।


