तनहुँ – स्पाउज क्लब अफ आर.सी. चितवन र रोटरी क्लब अफ चितवनको संयुक्त आयोजनामा बन्दीपुरस्थित भानु माध्यमिक विद्यालयमा किशोरीहरूका लागि एकदिवसीय स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ।
“स्वास्थ्य, शरीर र विज्ञान : बुझौँ, स्वीकारौँ र गर्व गरौँ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा कक्षा ७ देखि १२ सम्म अध्ययनरत ११० जना छात्राहरूको सहभागिता रहेको थियो। कार्यक्रममा किशोरावस्थामा हुने शारीरिक तथा भावनात्मक परिवर्तन, महिनावारी, व्यक्तिगत सरसफाइ, पोषण तथा महिनावारी व्यवस्थापनका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमकी मुख्य स्रोत व्यक्ति स्टाफ नर्स तथा स्पाउज क्लब अफ आर.सी. चितवनकी अध्यक्ष जानकी तिवारी शर्माले डिजिटल प्रस्तुतिमार्फत स्त्री प्रजनन प्रणाली, महिनावारी चक्र तथा किशोरावस्थामा देखिने विभिन्न शारीरिक र भावनात्मक परिवर्तनबारे जानकारी गराउनुभयो।
उहाँले महिनावारीलाई लिएर समाजमा विद्यमान अन्धविश्वास, भ्रम र गलत धारणाको अन्त्य गर्दै यसलाई प्राकृतिक जैविक प्रक्रियाका रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो। साथै, सन्तुलित पोषण, स्वच्छता, प्रयोग गरिएका प्याडको सुरक्षित व्यवस्थापन तथा विश्व स्वास्थ्य संगठन (WHO) र नेपाल सरकारका स्वास्थ्यसम्बन्धी मापदण्डबारे समेत जानकारी दिइएको थियो।
कार्यक्रममा स्पाउज क्लबका सदस्यहरू कविता चुके, मना पिया, रोशनी प्रधान र जलश्री श्रेष्ठको उपस्थिति रहेको थियो। त्यसैगरी रोटरी क्लब अफ चितवनका अध्यक्ष गजेन्द्र श्रेष्ठ, पास्ट प्रेसिडेन्ट काउन्सिल चियर भानु शर्मा, पूर्व अध्यक्षहरू उत्तमलाल चुके, दिलीप पिया र दीपक प्रधान, प्रेसिडेन्ट इलेक्ट राजन पिया, उपाध्यक्षहरू गोपाल भट्टराई र गुनेश्वर महतो तथा सचिव रोशन खरेल लगायत रोटरी क्लबका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्तिम चरणमा खुला प्रश्नोत्तर सत्र सञ्चालन गरिएको थियो। उक्त सत्रमा छात्राहरूले महिनावारी, किशोरावस्थामा हुने शारीरिक परिवर्तन, स्वास्थ्य तथा व्यक्तिगत सरसफाइसँग सम्बन्धित आफ्ना जिज्ञासा निर्धक्क रूपमा राखेका थिए। स्रोत व्यक्तिले विद्यार्थीका प्रश्नहरूको सहज र वैज्ञानिक ढंगले जवाफ दिनुभएको थियो।
कार्यक्रममा सहभागी किशोरीहरूले सचेतना सत्र अत्यन्तै उपयोगी र ज्ञानवर्द्धक भएको प्रतिक्रिया दिएका थिए। महिनावारीसँग सम्बन्धित भ्रम र संकोच हटाउँदै किशोरीहरूलाई आफ्नो शरीर, स्वास्थ्य र प्राकृतिक शारीरिक प्रक्रियाबारे वैज्ञानिक ज्ञान प्रदान गर्नु कार्यक्रमको महत्वपूर्ण उपलब्धि रहेको आयोजकहरूले बताएका छन्।
किशोरीहरूमा स्वास्थ्यसम्बन्धी सही ज्ञान, आत्मविश्वास र सकारात्मक सोच विकास गर्न यस्ता सचेतनामूलक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूको विश्वास छ।


