भरतपुर – चितवन उद्योग वाणिज्य संघको आयोजना तथा जीआईजेड–आरएसआरएसडी परियोजनाको प्राविधिक सहयोग एवं विद्युत व्यवसायी संघ, चितवनको समन्वयमा उद्योगी–व्यवसायीका लागि “आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी इलेक्ट्रोनिक फाइलिङ” विषयक एकदिने तालिम सम्पन्न भएको छ।
भरतपुर–४ स्थित ग्यालेक्सी गार्डेन रिसोर्टमा आयोजित तालिमको उद्देश्य उद्योगी–व्यवसायीलाई आयकर तथा मूल्य अभिवृद्धि करका आधारभूत सिद्धान्तसँगै विद्युतीय माध्यमबाट समयमै कर विवरण पेस गर्ने प्रक्रियाबारे जानकारी गराउनु रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले प्रविधिको तीव्र विकाससँगै निजी क्षेत्रले पनि आफ्ना परम्परागत कार्यशैलीमा सुधार गर्दै प्रविधिलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो। करसम्बन्धी सामान्य त्रुटिका कारण समेत व्यवसायीले ठूलो जरिवाना तथा मानसिक सास्ती व्यहोर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले यस्ता तालिमले व्यवसायीलाई कर प्रणालीबारे सचेत र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले नेपालको कर प्रशासन क्रमशः डिजिटल तथा प्रविधिमैत्री बन्दै गएको बताउनुभयो। करदाता र कर प्रशासनबीचको सम्बन्धलाई पारदर्शी तथा विश्वासिलो बनाउन इलेक्ट्रोनिक फाइलिङको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले करसम्बन्धी नीति–नियमको जानकारीको अभाव तथा समयमै विवरण पेस नगर्दा व्यवसायीहरू अनावश्यक जरिवाना र झन्झटमा पर्ने गरेको बताउनुभयो।
चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले प्रतिस्पर्धात्मक बजारमा व्यवसायीका लागि कर नीति तथा डिजिटल प्रणालीसम्बन्धी ज्ञान अपरिहार्य भएको बताउनुभयो। राज्यका कर नीति, नयाँ बजेटका व्यवस्था तथा ई–फाइलिङजस्ता प्रविधिबारे व्यवसायी सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो। संघले व्यवसायीका समस्या उठान गर्नुका साथै उनीहरूको क्षमता अभिवृद्धि र प्रविधिमैत्री बनाउन निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ थियो।
विद्युत व्यवसायी संघ, चितवनका अध्यक्ष विष्णु प्रसाद चालिसेले विद्युत व्यवसायीलाई प्रविधिको पहुँचमा ल्याउन तालिम महत्वपूर्ण र फलदायी भएको बताउनुभयो। प्रविधिसँग प्रत्यक्ष रूपमा जोडिन नसक्दा लेखा तथा करसम्बन्धी काममा अरूमाथि निर्भर हुनुपर्ने अवस्थालाई तालिमले कम गर्दै व्यवसायीलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने उहाँले बताउनुभयो। आगामी दिनमा समेत विद्युत व्यवसायीका लागि चेतनामूलक तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्न उहाँले चितवन उद्योग वाणिज्य संघलाई आग्रह गर्नुभयो।
चितवन उद्योग वाणिज्य संघका राजस्व सल्लाहकार सीए विमान कार्कीले प्रशिक्षण दिनुभएको तालिममा चितवनमा विद्युतीय सामग्रीको कारोबार गर्ने करिब १०० जना व्यवसायीको सहभागिता रहेको थियो।
कार्यक्रममा संघका उपाध्यक्ष नारायण प्रधान, तालिम संयोजक विष्णु लम्साल, कार्यकारी निर्देशक निलबहादुर केसी, कार्यसमिति सदस्यहरू नवराज सुवेदी, अशोकप्रसाद लामिछाने र श्रीकृष्ण लम्साल, सूचना प्रविधि अधिकृत बिनायक लम्साल, नेपाल विद्युतीय व्यवसायी महासंघका उपाध्यक्ष लेखनाथ सापकोटा, पूर्वअध्यक्ष तेजनारायण खरेल, विद्युत व्यवसायी संघ चितवनका संस्थापक अध्यक्ष बामदेव शर्मा घिमिरेलगायत पूर्वअध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न तालिमको औपचारिक सत्र संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो।


