सिमलधाराको पहिरो पन्छाइयो, ९ घण्टापछि नारायणगढ–काठमाडौं सडक सुचारु

एटुजेड समाचार

चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा खसेको सुख्खा पहिरो पन्छाएपछि नारायणगढ–काठमाडौं सडकखण्ड ९ घण्टा पछि पूर्णरूपमा सञ्चालनमा आएको छ।

शनिबार राति करिब १०ः२५ बजे सडक माथिबाट रूखसहितको सुख्खा पहिरो खसेपछि राजमार्गको उक्त खण्डमा दुवैतर्फी सवारी आवागमन अवरुद्ध भएको थियो। पहिरोका कारण रातिदेखि नै सडकमा सवारीसाधन रोकिएका थिए।

सम्बन्धित निकायको टोलीले पहिरो पन्छाउने काम सम्पन्न गरेपछि आइतबार बिहान ६ः१५ बजेदेखि सडकमा दुवैतर्फी सवारी आवागमन नियमित भएको हो।

सडक सञ्चालनमा आए पनि राजमार्गको उक्त क्षेत्रमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाएर यात्रा गर्न सम्बन्धित निकायले यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ।

वर्षायाममा पृथ्वीराजमार्गअन्तर्गत चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पटक–पटक पहिरो खस्ने गरेको छ। त्यसैले यात्राका क्रममा सडकको अवस्था तथा सम्भावित जोखिमबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु