जीवनमा परिवर्तन ल्याउन सधैं ठूलो अवसरको आवश्यकता पर्दैन। कहिलेकाहीँ एउटा सानो अवसर, सिक्ने इच्छाशक्ति र आफूले आफैंलाई गरेको विश्वासले नै जीवनको बाटो बदल्न सक्छ। महालक्ष्मी नगरपालिका–६ की अश्मिता श्रेष्ठ अहिले यही विश्वासका साथ आफ्नो छुट्टै पहिचान बनाउने यात्रामा अघि बढिरहेकी छन्।
बैशाख ८ गतेदेखि १४ गतेसम्म महालक्ष्मी महिला सशक्तीकरण सञ्जालको आयोजना तथा महालक्ष्मी नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा अचार बनाउने तालिम सञ्चालन भएको थियो। उक्त तालिममा सहभागी अस्मिताका लागि त्यो तालिम केवल केही दिनको सिकाइमा सीमित रहेन। उनले तालिमलाई आफ्नो जीवनमा नयाँ सुरुवात गर्ने अवसरका रूपमा लिइन्।
धेरैले तालिम लिन्छन्, प्रमाणपत्र लिन्छन् र घर फर्किन्छन्। तर तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न नसक्दा ती प्रमाणपत्रहरू अन्ततः दराजभित्र थन्किएर बस्छन्। अस्मिताले भने प्रमाणपत्र थन्क्याएर बस्ने सोच राखिनन्। उनले तालिममा सिकेको सीपलाई आफ्नै जीवनसँग जोडिन् र घरको भान्साबाटै आफ्नो सम्भावनाको खोजी सुरु गरिन्।
आज उनी चिकेन अचार, बफ अचार तथा पाङ्ग्राको अचार बनाएर आफ्नो उत्पादनलाई बजारसम्म पुर्याउने प्रयासमा छिन्। उनले बनाएको अचारप्रति ग्राहक तथा वरपरका मानिसबाट राम्रो र सकारात्मक प्रतिक्रिया आउन थालेपछि उनको आत्मविश्वास पनि बढ्दै गएको छ। सुरुमा उनले आफैंले अचार बनाएर त्यसको स्वाद र गुणस्तर परीक्षण गरिन्। आफूले बनाएको उत्पादनप्रति सकारात्मक प्रतिक्रिया पाएपछि उनको मनमा एउटा नयाँ विश्वास पलायो मेहनत गरियो भने आफूले पनि केही गर्न सकिन्छ, सफल हुन सकिन्छ।
अस्मिताको भनाइमा घरमा त्यसै बसिरहनुभन्दा केही सीप सिकेर त्यसलाई प्रयोग गर्न सकियो भने जीवनमा नयाँ सम्भावनाको ढोका खुल्छ। अरूको काममा मेहनत गरेजस्तो आफ्नै काममा नहुने र आफ्नै काम गर्दा मेहनत गर्न पनि छुट्टै उत्साह आउने उनको अनुभव छ। आफ्नो समय, मेहनत र सिर्जनशीलता आफ्नै काममा लगाउँदा थकानभन्दा सन्तुष्टि बढी मिल्ने उनी बताउँछिन्।
उनको सबैभन्दा महत्वपूर्ण सन्देश भनेको तालिमलाई प्रमाणपत्रमा मात्र सीमित नराख्नु हो। उनका अनुसार तालिम लिएर प्रमाणपत्र थुपार्नुको कुनै अर्थ छैन, यदि त्यसबाट सिकेको सीपलाई व्यवहारमा उतार्न सकिएन भने। सीप सिक्नुको वास्तविक अर्थ त्यसलाई आफ्नो जीवनमा प्रयोग गर्नु हो। एउटा तालिमले रोजगारीको बाटो देखाउन सक्छ, तर त्यो बाटोमा हिँड्ने काम भने आफैंले गर्नुपर्छ।
श्मिता स्थानीय सरकारले उपलब्ध गराउने अवसरलाई पनि गम्भीरतापूर्वक सदुपयोग गर्नुपर्ने बताउँछिन्। अहिले स्थानीय तह तथा विभिन्न संस्थाले महिलालाई लक्षित गरेर सीपमूलक तालिम, रोजगारी तथा आत्मनिर्भर बन्न सहयोग गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका हुन्छन्। तर अवसर आउँदैमा मात्र सफलता प्राप्त हुँदैन। अवसरलाई चिन्न सक्नुपर्छ, त्यसबाट सिक्नुपर्छ र सिकेको कुरालाई काममा उतार्न सक्नुपर्छ।
उनी दिदीबहिनीहरूलाई पनि आफूले सिकेको सीपबाट आत्मनिर्भर बन्न आग्रह गर्छिन्। अरूको भरमा मात्र बस्नुभन्दा आफूसँग भएको क्षमता पहिचान गरेर त्यसलाई प्रयोग गर्नुपर्ने उनको धारणा छ। महिलाले घरपरिवार सम्हाल्दै आफ्नो सीप र क्षमतालाई पनि अगाडि बढाउन सके परिवारसँगै समाज र राष्ट्रको आर्थिक विकासमा समेत योगदान दिन सक्ने उनको विश्वास छ।
अस्मिताका लागि व्यवसाय भनेको केवल पैसा कमाउने माध्यम होइन। यो आफ्नै पहिचान बनाउने माध्यम पनि हो। आफूले बनाएको उत्पादन मानिसहरूले रुचाउनु, फेरि माग गर्नु र आफ्नो मेहनतको मूल्य पाउनु उनका लागि ठूलो हौसला बनेको छ। यही सानो सफलताले उनलाई अझ राम्रो उत्पादन गर्ने, नयाँ कुरा सिक्ने र भविष्यमा आफ्नो व्यवसायलाई अझ व्यवस्थित बनाउने प्रेरणा दिएको छ।
उनी व्यवसायमा सफल हुन सस्तो लोकप्रियताको पछि लाग्नुभन्दा गुणस्तर र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताउँछिन्। स्वादिलो उत्पादन मात्र बनाएर पुग्दैन, त्यसमा स्वच्छता, स्वास्थ्य र गुणस्तर पनि हुनुपर्छ। ग्राहकलाई एकपटक आकर्षित गर्नुभन्दा ग्राहकको विश्वास जित्नु महत्वपूर्ण हुने उनको बुझाइ छ। गुणस्तरीय उत्पादन गर्न सकियो भने ग्राहकले आफैं त्यसको मूल्य बुझ्ने र व्यवसायलाई दीर्घकालीन रूपमा अगाडि बढाउन सकिने उनको अनुभव छ।
अस्मिताको सोचमा एउटा महत्वपूर्ण कुरा छ सफलता एकैपटक प्राप्त हुने कुरा होइन। सानो प्रयासबाट सुरु भएको कामलाई निरन्तरता दिँदै, गल्तीबाट सिक्दै र आवश्यक सुधार गर्दै अघि बढ्न सके विस्तारै ठूलो सफलता हासिल गर्न सकिन्छ। सुरुमा बजार सानो हुन सक्छ, उत्पादन थोरै हुन सक्छ, आम्दानी पनि धेरै नहुन सक्छ। तर सुरुवात नै नगर्नुभन्दा सानो सुरुवात गर्नु ठूलो कुरा हो। आज अस्मिताले आफ्नै घरको भान्साबाट सुरु गरेको प्रयास भोलि एउटा व्यवस्थित व्यवसाय बन्न सक्छ। उनको उत्पादनले बजार विस्तार गर्न सक्छ, उनको मेहनतले अरू महिलालाई पनि रोजगारी दिन सक्छ र उनको सफलताले अझ धेरै दिदीबहिनीलाई “हामी पनि केही गर्न सक्छौं” भन्ने आत्मविश्वास दिन सक्छ।
यही कारणले अस्मिताको कथा केवल अचार बनाउने एउटी महिलाको कथा होइन। यो सीपलाई अवसरमा, अवसरलाई मेहनतमा र मेहनतलाई आत्मनिर्भरतामा बदल्ने एउटी महिलाको कथा हो। उनको यात्राले हामीलाई एउटा महत्वपूर्ण कुरा सिकाउँछ तालिमको वास्तविक प्रमाणपत्र कागजको टुक्रा होइन, त्यसबाट जीवनमा आएको परिवर्तन हो।
सीप सिकेर दराजमा प्रमाणपत्र थन्क्याउनु सजिलो छ, तर सिकेको सीपलाई व्यवहारमा उतारेर आफ्नो पहिचान बनाउनु चुनौतीपूर्ण छ। अश्मिताले भने यही चुनौती रोजेकी छन्।
उनको हातमा अहिले अचार छ, तर त्यो अचारसँगै उनको हातमा सीप, आत्मविश्वास, मेहनत र आत्मनिर्भर बन्ने सपना पनि छ। उनको आँखामा ठूलो सपना छ, तर सुरुवात भने सानो छ। यही सानो सुरुवातले भोलि ठूलो रूप लिन सक्छ।
त्यसैले केही गर्न चाहने तर कहाँबाट सुरु गर्ने भनेर अन्योलमा रहेका दिदीबहिनीहरूका लागि अश्मिताको यात्रा एउटा सन्देश हो अवसर पर्खेर मात्र बस्नु हुँदैन, अवसर पाएपछि त्यसलाई समात्न सक्नुपर्छ। सीप सिक्नुपर्छ, सिकेको सीप प्रयोग गर्नुपर्छ र आफ्नो क्षमतामाथि विश्वास गर्नुपर्छ। किनकि आत्मनिर्भरता कसैले दिएर पाइने उपहार होइन।
यो आफैंले मेहनत गरेर निर्माण गर्ने पहिचान हो।
अस्मिता श्रेष्ठ अहिले यही पहिचान निर्माण गर्ने यात्रामा छिन्। उनको यात्रा अझै लामो छ, बाटोमा चुनौतीहरू पनि आउलान्। तर सुरुवात भइसकेको छ, आत्मविश्वास जागिसकेको छ र मेहनत गर्ने इच्छाशक्ति बलियो छ। र कहिलेकाहीँ सफलताको यात्राका लागि यति नै पर्याप्त हुन्छ सानो सुरुवात, निरन्तर मेहनत र आफूले आफैंलाई गरेको विश्वास।
अस्मिताको यो प्रयासले एउटा कुरा स्पष्ट देखाएको छ घरको भान्साबाट पनि सपना देख्न सकिन्छ, सीपबाट पनि व्यवसाय सुरु गर्न सकिन्छ र मेहनतबाट पनि आफ्नो छुट्टै पहिचान बनाउन सकिन्छ। उनको सफलता केवल उनको व्यक्तिगत सफलता नहोस्, बरु उनीजस्तै धेरै दिदीबहिनीका लागि प्रेरणाको कारण बनोस्। किनकि एउटी महिला आत्मनिर्भर हुँदा एउटा व्यक्ति मात्र बदलिँदैन, एउटा परिवार बदलिन्छ; एउटा परिवार बदलिँदा समाज बदलिन सक्छ।


