चितवन – भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा झै–झगडा तथा कुटपिट हुँदा चार जना घाइते भएका छन् । घटना आज (शनिबार) राति करिब १:२० बजे भएको प्रहरीले जनाएको छ ।
झै–झगडा भएको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घाइतेहरूलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाएको जनाएको छ।
घटनामा संलग्नमध्ये भरतपुर महानगरपालिका–४ बस्ने ३२ वर्षीय हिमाल रसाइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घाइते हुनेमा नवलपुरको बौदीकाली गाउँपालिका–१ का १७ वर्षीय मदन क्षेत्री रहेका छन्। उनको टाउको र तिघ्रामा चोट लागेको र अवस्था मध्यम रहेको छ। त्यस्तै, भरतपुर महानगरपालिका–१७ का २६ वर्षीय रोहन तामाङको बायाँ कोखामा चोट लागेको छ र उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ।
यसैगरी, कालिका नगरपालिका–९ का २३ वर्षीय विशाल मगर र कपिलवस्तुको तौलिहवा नगरपालिका–१ का ३५ वर्षीय मो. सरपराज घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


