नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर

काठमाडौं –  नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अमित तोमरले नेपाललाई मेडिकल हबका रूपमा विकास गर्न अस्पतालहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा डा. तोमरले नेपालमा स्वास्थ्य सेवा विस्तारको गति तीव्र रहेको र नयाँ प्रविधि भित्रिने क्रम बढेकाले स्वास्थ्य क्षेत्रमा ठूलो सम्भावना रहेको बताए।

‘अहिले नेपालमा स्वास्थ्य सेवा विस्तारको गति तीव्र रूपमा बढिरहेको छ । पछिल्लो बर्ष नयाँ अस्पतालहरू खुलेका छन् र स्वास्थ्य सेवामा हरेक दिन नयाँ प्रविधिहरू भित्रिइरहेका छन्। त्यसैले आउँदो समयमा हेल्थकेयर म्यानेजमेन्टका विद्यार्थीहरूका लागि यहाँ धेरै ठूलो सम्भावना छ,’ उनले भने।

अस्पताल व्यवस्थापनमा सफल हुन सञ्चार, बिरामी सुरक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । एआईको विकाससँगै स्वास्थ्य क्षेत्रमा पनि नयाँ व्यवस्थापन प्रणाली र प्रविधिको आवश्यकता बढ्दै गएको उनले बताए।

‘व्यवस्थापनमा सफलताको साँचो सञ्चार हो। स्वास्थ्य सेवामा आफ्ना साझेदार, बिरामी र बाह्य सरोकारवालासँगको सञ्चार अत्यन्त महत्वपूर्ण हुन्छ,’ उनले भने ।  एआइको प्रयोगबारे उनले स्वास्थ्य क्षेत्रका विद्यार्थी तथा व्यवस्थापकहरू प्रविधिमैत्री बन्नुपर्ने बताए।

‘एआइको आगमनसँगै यो क्षेत्र निकै फराकिलो भएको छ । आज काम गरिरहेको कुराले भोलि काम नगर्न सक्छ। त्यसैले उनीहरू एआईको बारेमा अपडेटेड हुनुपर्छ र एआई प्रणाली कसरी चलाउने भनेर सिक्नुपर्छ। अन्ततः भविष्य त्यही नै हो,’ उनले भने।

अस्पतालका हरेक निर्णय बिरामी केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले बिरामीको अनुभव र उपचारको परिणामलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

अस्पताल सञ्चालनमा प्रणाली र प्रक्रियाको महत्वपूर्ण भूमिका हुने भन्दै उनले व्यवस्थापन तहमा रहेका व्यक्तिले त्यसलाई राम्रोसँग बुझ्नुपर्ने बताए। निर्णय प्रक्रियामा धेरैभन्दा धेरै व्यक्तिलाई सहभागी गराउँदा प्रभावकारी निर्णय लिन सकिने उनको भनाइ छ।

नेपाल मेडिसिटीले बिरामी सुरक्षा र स्वास्थ्य सेवाको गुणस्तरलाई प्राथमिकतामा राखेको उनले बताए । अस्पतालमा छुट्टै गुणस्तर तथा बिरामी सुरक्षा विभाग रहेको र विभिन्न प्रणाली तथा प्रक्रियाको नियमित अडिट गरिँदै आएको उनले जानकारी दिए।

‘हामी नियमित तालिम दिइरहेका छौँ र नियमित अडिट गरिरहेका छौँ। नेपालकै पहिलो अस्पताल हौँ जहाँ छुट्टै गुणस्तर र बिरामी सुरक्षा विभाग छ । त्यसले संगठनमा भएका विभिन्न प्रक्रिया र प्रणालीहरूको अडिट गर्छ र मानिसहरूले प्रणाली तथा प्रक्रियाको पालना गरिरहेका छन् कि छैनन् भनेर मूल्याङ्कन गर्छ,’ उनले भने।

बिरामी सुरक्षाका लागि संक्रमण नियन्त्रण, सुरक्षित शल्यक्रिया र औषधि सुरक्षामा विशेष ध्यान दिइएको उनले बताए । शल्यक्रियाका क्रममा मानवीय त्रुटि न्यूनीकरण गर्न सुरक्षित सर्जिकल चेकलिस्ट प्रयोग गरिँदै आएको उनको भनाइ छ ।

नेपालमा स्वास्थ्य प्रविधि भित्र्याउन भने केही चुनौती रहेको उनले बताए। भारतलगायत छिमेकी मुलुकमा सहजै उपलब्ध हुने कतिपय प्रविधि नेपालमा ल्याउन समय लाग्ने र अधिकांश उपकरण आयात गर्नुपर्ने भएकाले लागत बढ्ने उनको भनाइ छ।

अस्पतालले आर्थिक रूपमा कमजोर बिरामीलाई उपचारमा सहयोग गर्दै आएको र ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको उनले जानकारी दिए ।

उनले भने,‘कुनै समय बिरामीले खर्च व्यहोर्न नसकेको अवस्थामा हामी त्यो बिरामीको हेरचाह गर्छौँ। धेरै ग्रामीण स्थलहरुमा स्वास्थ्य जाँच शिविरहरू सञ्चालन गरिरहेका छौँ। ती निःशुल्क छन् ।’ टेलिमेडिसिन सेवामार्फत विदेशमा रहेका नेपालीलाई समेत स्वास्थ्य परामर्श दिइरहेको उनले बताए।

‘हामी टेलिमेडिसिनको प्रविधि भित्र्याउने नेपालका पहिलो अस्पतालहरूमध्येका हौँ। विदेशमा बसोबास गर्ने नेपालीहरू, विशेषगरी सेकेन्ड ओपिनियन चाहने नेपालीहरूलाई नियमित रूपमा टेलिमेडिसिन परामर्श दिइरहेका छौँ,’उनले भने।

नेपाल मेडिसिटीले रोबोटिक शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरिरहेको समेत उनले जानकारी दिए। ‘हामी रोबोट ल्याउने प्रक्रियामा छौँ। त्यो छिट्टै सुरु हुनेछ र तपाईंले छिट्टै नेपाल मेडिसिटीमा रोबोटिक शल्यक्रियाका सेवाहरू देख्नुहुनेछ,’ उनले भने ।

नेपाललाई मेडिकल हब बनाउन प्रविधिसँगै दक्ष जनशक्तिको उपयोग गर्नुपर्नेमा उनले जोड दिए । विदेशमा रहेका नेपाली चिकित्सक तथा नर्सलाई स्वदेश फर्काएर सेवा दिने वातावरण बनाउन सके नेपालले ठूलो फड्को मार्न सक्ने उनको विश्वास छ।

उनले भने,‘यदि हामीले नयाँ प्रविधि भित्र्याउन सक्यौँ र हाम्रा मानिसहरूलाई विदेशबाट फिर्ता ल्याएर नेपालमै स्वास्थ्य सेवा प्रदान गर्न लगायौँ भने नेपाललाई एउटा ठूलो मेडिकल हब बन्न कसैले रोक्न सक्दैन ।’

नेपाललाई मेडिकल हब बनाउन एउटा मात्र अस्पतालको प्रयास पर्याप्त नहुने भन्दै उनले सबै अस्पताल व्यवस्थापक र सीईओहरूलाई सहकार्यका लागि आग्रह गरे।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु