जेपानद्वारा देवघाटधाममा निःशुल्क खानेपानी वितरण

एटुजेड समाचार

चितवन – जापानिज शैक्षिक प्रदायक संघ नेपाल (जेपान) ले श्रावण महिनाको अन्तिम सोमबारको अवसर पारेर धार्मिक तथा पर्यटकीय तीर्थस्थल देवघाटधाममा निःशुल्क खानेपानी वितरण कार्यक्रम सम्पन्न गरेको छ।

देवघाटधाममा दर्शन तथा धार्मिक यात्राका लागि आउने भक्तजनलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा सयौँ भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरिएको थियो। कार्यक्रम अस्थायी प्रहरी पोष्ट देवघाट तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनको समन्वयमा सम्पन्न भएको हो।

कार्यक्रमको संयोजन जेपानका उपाध्यक्ष कृष्ण गौतमले गर्नुभएको थियो। कार्यक्रममा जेपानका कार्यसमिति पदाधिकारी तथा सदस्यहरूका साथै सक्रिय सदस्य प्रज्वल पौडेल लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

श्रावण महिनाको अन्तिम सोमबार देवघाटधाममा ठूलो संख्यामा भक्तजनको आगमन हुने भएकाले यात्रामा रहेका भक्तजनलाई सहजता प्रदान गर्ने उद्देश्यले खानेपानी वितरण गरिएको जेपानले जनाएको छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको देवघाटधाममा भक्तजनलाई लक्षित गरी गरिएको यस मानवीय सेवामूलक कार्यले सामाजिक उत्तरदायित्वप्रति जेपानको प्रतिबद्धतालाई थप उजागर गरेको छ।

धार्मिक आस्थाको केन्द्रमा पुगेर सेवामार्फत भक्तजनलाई सहयोग गर्ने जेपानको पहललाई सहभागीहरूले समेत सकारात्मक रूपमा लिएका छन्।

जेपानले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सेवामूलक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु