इरानबाट हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट गोप्य रूपमा विमान बदलेर बेलायत पुगेको खुलासा

एटुजेड समाचार

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट हत्याको धम्की आएपछि गत महिना टर्कीबाट बेलायततर्फ गोप्य रूपमा सानो विमानमार्फत यात्रा गरेको खुलासा भएको छ।वासिङ्टन पोस्टका अनुसार गत जुलाई ८ मा टर्कीको अङ्कारामा ट्रम्प एयर फोर्स वनमा चढेको देखिए पनि केही समयपछि उनी उक्त विमानबाट अलग्गिएर सानो सी–३२ए विमानमार्फत बेलायततर्फ प्रस्थान गरेका थिए।

पोस्टसँग कुरा गरेका एक अज्ञात अमेरिकी अधिकारीका अनुसार ट्रम्प एयर फोर्स वनमा चढेपछि विमानमा खानपान सामग्री राख्ने कन्टेनर जाने स्थानतर्फ गएका थिए। त्यही कन्टेनरमार्फत उनलाई सानो सी–३२ए विमानसम्म पुर्‍याइएको थियो। सो विमानले उनलाई बेलायत पुर्‍याएको बताइएको छ।

राष्ट्रपति ट्रम्पले विमान परिवर्तन गरेको विषय गोप्य राख्न सञ्चारमाध्यमका प्रतिनिधि तथा केही अधिकारीलाई उनी अझै ठूलो एयर फोर्स वनमै रहेको विश्वास दिलाइएको थियो। ठूलो विमानमा रहेका पत्रकारहरूलाई समेत झ्यालका पर्दा बन्द गर्न भनिएको थियो।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको भिडियोमा ट्रम्प ठूलो एयर फोर्स वनमा सिँढी चढेर प्रवेश गरेको केही मिनेटपछि पुरानो विमानबाट खानपान सामग्री बोक्ने ट्रक बाहिरिएको देखिन्छ। उक्त ट्रकलाई पछि सानो सी–३२ए विमानतर्फ लगिएको देखिएको छ।यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले इरानी प्रोक्सी समूहबाट हुन सक्ने सुरक्षा खतराका कारण ट्रम्पले टर्कीबाट बाहिरिँदा कतारले अमेरिकालाई उपहार दिएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग नगरेको बताएका थिए।

नाटो शिखर सम्मेलनमा सहभागी हुन अङ्कारा पुगेका ट्रम्पले बेलायतमा रहेका अमेरिकी सेनाका सदस्यलाई नयाँ विमान देखाउन सकून् भन्ने उद्देश्यले पुरानो बोइङ ७४७ प्रयोग गर्ने बताएका थिए। तर न्युयोर्क टाइम्ससहितका सञ्चारमाध्यमले इरानी प्रोक्सी समूहबाट हुन सक्ने सुरक्षा खतराका कारण विमान परिवर्तन गरिएको जनाएका थिए।

विमान परिवर्तनको घटनाले कतारले उपहार दिएको नयाँ एयर फोर्स वनको सुरक्षा क्षमतामाथि समेत प्रश्न उठाएको थियो। उक्त विमानमा पुरानो एयर फोर्स वनमा जस्तै सबै सुरक्षा सुविधा, विशेषगरी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, उपलब्ध नभएको बताइएको थियो।

कतारको शाही परिवारले गत वर्ष ट्रम्पको अनुरोधपछि अमेरिकालाई उक्त विलासी बोइङ ७४७–८ विमान उपहार दिएको थियो। सन् १९९० देखि एयर फोर्स वनका रूपमा प्रयोग हुँदै आएका दुई पुराना बोइङ ७४७ विमानको अवस्थाप्रति ट्रम्पले असन्तुष्टि जनाउँदै आएका थिए।

उपहारस्वरूप प्राप्त विमानलाई अमेरिकी राष्ट्रपतिको प्रयोगका लागि तीव्र रूपमा पुनःसंरचना गरिएको थियो। जुलाई १ मा ट्रम्प पहिलोपटक उक्त विमानमार्फत नर्थ डकोटा गएका थिए। त्यसको केही दिनपछि उनले आफ्नो पहिलो विदेशी भ्रमणका क्रममा सोही विमानबाट टर्कीको यात्रा गरेका थिए।

वासिङ्टन पोस्टको रिपोर्टबारे एएफपीले सोधपुछ गरेपछि ह्वाइट हाउसले नयाँ एयर फोर्स वनको सुरक्षाको बचाउ गरेको छ। ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीभन चेउङले नयाँ विमान अत्याधुनिक रहेको र राष्ट्रपति तथा उनका कर्मचारीको सुरक्षाका लागि उच्चस्तरीय सुरक्षा प्रोटोकल लागू गरिएको बताएका छन्।

उनले ट्रम्पले हालै अमेरिकाका धेरै शत्रु रहेको र तीमध्ये धेरैको निशाना आफू रहेको बताएको उल्लेख गर्दै त्यस्ता खतरासँग जुध्न सरकारले उपलब्ध सबै साधन प्रयोग गरिरहेको बताएका छन्।यद्यपि, ट्रम्पलाई सानो सी–३२ए विमानबाट ठूलो विमानमा कसरी स्थानान्तरण गरिएको थियो भन्ने विषय भने स्पष्ट नभएको वासिङ्टन पोस्टले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु