बारा – सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह नगरेको तथा तस्करलाई खुला रूपमा गतिविधि गर्न छुट दिएको आरोप लागेपछि बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरलाई हेडक्वार्टर तानिएको बुझिएको छ।
बारा जिल्लाका विभिन्न सीमावर्ती नाकाबाट पछिल्लो समय तस्करीका गतिविधि बढेको भन्दै गुनासो आएपछि प्रहरी नेतृत्वको भूमिकामाथि समेत प्रश्न उठेको थियो। तस्करी नियन्त्रणमा प्रहरीको भूमिका कमजोर देखिएको तथा केही तस्करलाई सहज रूपमा गतिविधि गर्न दिइएको आरोपपछि प्रहरी मुख्यालयले घटनाबारे चासो देखाएको स्रोतको भनाइ छ।
यसैक्रममा बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवर तथा प्रहरी निरीक्षक केडी साहलाई आवश्यक जानकारी र छानबिनका लागि हेडक्वार्टर बोलाइएको स्रोतले जनाएको छ। उनीहरूलाई हेडक्वार्टर तानिनुको कारणबारे प्रहरी मुख्यालयबाट औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
सीमावर्ती जिल्लामा तस्करी नियन्त्रण प्रहरी प्रशासनका लागि प्रमुख चुनौती रहँदै आएको छ। भारतसँग जोडिएका नाकाबाट हुने अवैध सामानको ओसारपसार नियन्त्रण गर्न स्थानीय प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ। तर प्रहरीकै संरक्षण वा मिलेमतोमा तस्करी हुने गरेको आरोप समय–समयमा लाग्दै आएको छ।
एसपी नरेन्द्र कुँवर र प्रहरी निरीक्षक केडी साहमाथि लागेको आरोपबारे प्रहरी मुख्यालयले आवश्यक छानबिन गर्ने बुझिएको छ। छानबिनपछि आरोप पुष्टि भएमा सम्बन्धित अधिकारीमाथि विभागीय पनि कारबाही हुन सक्नेछ।


