काठमाडौं – सगरमाथाको शिखर जाने बाटोमा विगत ३० वर्षदेखि हिउँमा जमेर रहेको ‘ग्रीन बुट्स’ भनेर चिनिने शवलाई अब घर फर्काउने तयारी भइरहेको छ । सन् १९९६ मा मृत्यु भएका भारतीय पर्वतारोही दोर्जे मोरुपको शव मानिएको उक्त शरीर सगरमाथाको करिब ८ हजार ५०० मिटर उचाइमा रहेको छ ।
हरियो रङका पर्वतारोहण जुत्ता लगाएको अवस्थामा रहेको उक्त शव दशकौँदेखि सगरमाथा आरोहीका लागि एउटा चिर–परिचित भयावह बिम्म थियो भने सगरमाथा चुचुरोतिर मार्गनिर्देश गर्ने ल्याण्डमार्क पनि ।
लामो समयसम्म यसलाई सोही सन् १९९६ को भारतीय आरोहण दलका सदस्य तेसेवाङ पाल्जोरको शव ठानिँदै आएको थियो । जीवित आरोहीहरूको बयान, अन्तिम रेडियो सम्पर्कको स्थान तथा शवसँग भेटिएका कपडा र आरोहण सामग्रीका आधारमा भारतीय अधिकारीहरूले पनि यो दोर्जे मोरुपको शव भएको निष्कर्ष निकालेका छन् ।
भारत–चीन सीमा सुरक्षामा खटिने इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी) का ४८ वर्षीय जवान मोरुप सगरमाथाको उत्तरी अर्थात् चीनतर्फको बाटोबाट आरोहण गर्ने ऐतिहासिक भारतीय टोलीका सदस्य थिए । उनले सन् १९९६ को मे १० मा साँझ ५ः३० बजे सगरमाथाको शिखर पुगेको प्रमाणपत्र चिनियाँ सरकारबाट पाएका थिए ।
तर शिखरबाट फर्कने क्रममा आएको भीषण हिमआँधीमा मोरुपसहित तेसेवाङ स्मान्ला र तेसेवाङ पाल्जोरको मृत्यु भएको थियो । उनीहरूको शवमध्ये दुईवटा अझै फेला परेका छैनन् ।
अत्यन्त जोखिमपूर्ण उद्धार
सगरमाथाको ‘डेथ जोन’ भनिने क्षेत्रमा शव उद्धार गर्नु अत्यन्त जोखिमपूर्ण मानिन्छ । त्यहाँ तापक्रम माइनस ४० डिग्री सेल्सियससम्म पुग्न सक्छ र समुद्री सतहको तुलनामा अक्सिजनको मात्रा करिब एकतिहाइ मात्र हुन्छ ।
पर्वतारोहीहरूका अनुसार चीनतर्फको बाटो अझ भिरालो र कठिन भएकाले शव तल झार्नु पनि ठूलो चुनौती हुनेछ । शव रहेको स्थानसम्म पुग्न मात्रै पनि शिखर आरोहण गर्न सक्ने क्षमताका १० देखि १२ जना पर्वतारोही आवश्यक पर्न सक्ने अनुमान छ ।
त्यसपछि शवलाई हेलिकोप्टरले उठाउन सकिने उचाइसम्म बोकेर ल्याउनुपर्नेछ । उद्धार अभियानमा ४० हजारदेखि ८० हजार अमेरिकी डलरसम्म खर्च हुन सक्ने विज्ञहरूले बताएका छन् ।
यसैगरि, आईटीबीपीले उद्धार अभियानका लागि विशेषज्ञ उच्च हिमाली उद्धार टोलीको खोजी गरिरहेको छ र सेप्टेम्बरसम्म मोरुपको शव भारत ल्याउने लक्ष्य राखेको छ । भारत ल्याएपछि डीएनए परीक्षणमार्फत यस शवको पहिचानलाई पुष्टि गरिनेछ ।
‘मेरो मनले उनको मृत्यु स्विकारेन’
मोरुपकी पत्नी कोन्चाक याङ्स्किटले शव कहिल्यै नदेखेकाले वर्षौँसम्म श्रीमानको मृत्यु भएको विश्वास गर्न नसकेको बताइन् ।‘मैले उहाँको शव देखिनँ, त्यसैले उहाँ बित्नुभएको कुरा स्विकार्न निकै कठिन भयो,’ उनले भनिन् ।
मोरुपका जेठा छोरा पुन्चोक दोर्जाइले शव घर फर्किएमा लद्दाखको राजधानी लेहस्थित मार्टियर्स पार्कनजिकै अन्त्येष्टि गर्ने बताए । उनका अनुसार बुबाले देशका लागि ज्यान दिएका कारण उनलाई सहिदका रूपमा सम्झिनुपर्छ ।
परिवारले मोरुपको सगरमाथा आरोहणको प्रमाणपत्रसँगै उनको अन्तिम चिनारी बनेको ‘ग्रीन बुट्स’लाई पनि उनको विरासतको चिनोका रूपमा सुरक्षित राख्ने योजना बनाएको छ ।


