काठमाडौँ – यदि तपाईं दैनिक पठाओ, इन्ड्राइभ वा यांगो जस्ता राइड सेयरिङ सेवा प्रयोग गर्नुहुन्छ भने, यो जानाकारी तपाइँको लागि सरकारले बिल प्रोत्साहन कार्यक्रम अन्तर्गत १ लाखदेखि १० लाख रुपैयाँसम्मको नगद उपहार दिने योजना सुरु गरेको छ। तर धेरैको प्रश्न थियो—राइड सेयरिङ सेवाले त बिल नै दिँदैनन्, त्यसो भए हामी पनि उपहार कार्यक्रममा सहभागी हुन पाउँछौं कि पाउँदैनौं?
आन्तरिक राजस्व विभागका अनुसार, यदि तपाईंले राइडको भाडा अनलाइन वा क्युआर स्क्यान गरेर डिजिटल रूपमा भुक्तानी गर्नुभएको छ भने, तपाईं स्वतः उपहार कार्यक्रममा सहभागी हुनुहुन्छ।
यसका लागि चालकले छुट्टै बिल दिनु आवश्यक पर्दैन। डिजिटल भुक्तानी हुनेबित्तिकै त्यस कारोबारको कुपन नम्बर विभागको प्रणालीमा स्वतः दर्ता हुन्छ। त्यही कुपन नम्बरका आधारमा विजेता छनोट गरिन्छ।
अहिले उपभोक्ताले आफ्नो कुपन नम्बर देख्न पाउँदैनन्। तर विभागले प्रणालीलाई अपग्रेड गरिरहेको छ। अब छिट्टै डिजिटल भुक्तानी गरेलगत्तै मोबाइलमै कुपन नम्बर देखिने व्यवस्था गरिने तयारी भइरहेको छ।
त्यसपछि तपाईंले आफ्नो कुपन नम्बर सुरक्षित राख्न सक्नुहुनेछ र विभागले सार्वजनिक गर्ने विजेता नम्बरसँग मिलाएर आफू विजेता भए–नभएको सजिलै थाहा पाउन सक्नुहुनेछ।
सरकारको यो योजनाको उद्देश्य डिजिटल भुक्तानी र बिल लिने बानीलाई प्रोत्साहन गर्दै राजस्व प्रणालीलाई थप पारदर्शी बनाउनु हो।
त्यसैले अबदेखि पठाओ, इन्ड्राइभ वा यांगो प्रयोग गर्दा सम्भव भएसम्म क्युआर वा अनलाइनमार्फत नै भुक्तानी गर्नुहोस्। यसले तपाईंलाई सहज भुक्तानी मात्र होइन, १ लाखदेखि १० लाख रुपैयाँसम्मको उपहार जित्ने अवसर पनि दिन सक्छ।


