काठमाडौँ – नेपालमा पछिल्लो समय ‘बैंकिङ कसुर’ सबैभन्दा धेरै दर्ता हुने अपराधको रूपमा देखिएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार देशभर कुल १२ हजार ९ सय ५० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्।प्रहरीको तथ्याङ्क अनुसार बैंकिङ क्षेत्रसँग सम्बन्धित ठगी र अनियमितताका घटनाहरू सबैभन्दा उच्च देखिएका हुन्।
तथ्याङ्क अनुसार काठमाडौँ उपत्यका बैंकिङ कसुरबाट सबैभन्दा बढी प्रभावित देखिएको छ। देशभर दर्ता भएका कुल मुद्दामध्ये ४६.५० प्रतिशत अर्थात् ६ हजार २२ वटा मुद्दा काठमाडौँ उपत्यकामा मात्रै दर्ता भएका छन्। आर्थिक गतिविधि बढी हुने र बैंकिङ पहुँच धेरै भएको क्षेत्र भएकाले यहाँ यस्ता अपराधका घटना बढी देखिएको प्रहरीको विश्लेषण छ।
उपत्यका बाहेक अन्य प्रदेशहरूको विवरण हेर्दा मधेश प्रदेशमा सबैभन्दा बढी १ हजार ७ सय ५७ वटा मुद्दा दर्ता भएका छन्। त्यसैगरी लुम्बिनी प्रदेशमा १,२१८ मुद्दा, कोशी प्रदेशमा १,१५७ मुद्दा, बागमती प्रदेश (उपत्यका बाहेक) १,०२१ मुद्दा, गण्डकी प्रदेश ९९४ मुद्दा, सुदूरपश्चिम प्रदेश ४२६ मुद्दा र कर्णालीमा सबैभन्दा कम ३५५ मुद्दा दर्ता भएका छन् ।


