काठमाडौं – नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता र संगठन सुदृढीकरणमा जोड दिएका छन् । ‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत आयोजित एकता, सद्भाव र विमर्श कार्यक्रममा बोल्दै महरले कांग्रेसलाई एकताबद्ध, सशक्त र जनमुखी पार्टी बनाउनुपर्ने बताएका हुन् ।
उनले कांग्रेसका लाखौँ नेता–कार्यकर्ताले वडा सदस्यदेखि प्रधानमन्त्रीसम्मको जिम्मेवारी लिने सपना बोकेर पार्टीमा योगदान गरिरहेको उल्लेख गर्दै सबैको साझा उद्देश्य जनताको सेवा र पार्टीको उद्देश्य पूरा गर्नु रहेको बताए ।
‘सबैलाई मन्त्री वा प्रधानमन्त्री बन्ने चाहना मात्रै छैन । वडा सदस्य भएर पनि आफ्नो समाजमा सम्मान कमाउँदै जनताको समृद्धिमा काम गर्ने हजारौँ–लाखौँ नेता–कार्यकर्ता कांग्रेसमा छन्,’ उनले भने ।
महरले देशभरका नेता–कार्यकर्तासँग संवाद गरेको र करिब ६ हजारभन्दा बढी सुझाव तथा प्रतिक्रियाहरू प्राप्त भएको जानकारी दिए । उनका अनुसार कांग्रेसका अधिकांश नेता–कार्यकर्ता पार्टीलाई एकताबद्ध र सशक्त अवस्थामा देख्न चाहन्छन् ।
उनले कांग्रेसलाई बीपी कोइरालाले स्थापना गरेको साझा घरको संज्ञा दिँदै घरभित्रका असमझदारीलाई संवाद र सहअस्तित्वबाट समाधान गर्नुपर्ने बताए । ‘घरमा कहिलेकाहीँ असमझदारी हुन्छ, तर परिवारभित्र एकअर्काको सम्मान गर्दै अघि बढिन्छ। त्यही नै पार्टीको चरित्र पनि हो,’ उनले भने ।
महरले कांग्रेसमा पुराना पुस्तादेखि नयाँ पुस्तासम्म सबैको योगदानलाई समेट्नुपर्ने बताए । उनले २००७ सालअघिको संघर्षदेखि पञ्चायतविरोधी आन्दोलन र पछिल्लो पुस्तासम्मका सबै विचार र सम्भावनालाई पार्टीले समेट्न नसके कांग्रेस कमजोर हुने चेतावनी दिए ।
राष्ट्रियता र वर्तमान राजनीतिक अवस्थाबारे बोल्दै उनले बीपी कोइरालाले अघि सारेको मेलमिलापको नीति अहिले झनै सान्दर्भिक बनेको बताए। देशमा सामाजिक, आर्थिक र राजनीतिक समस्या बढ्दै गएको उल्लेख गर्दै उनले जनतामा निराशा देखिएको दाबी गरे ।
‘व्यापारी, किसान, चिकित्सक, शिक्षक, विद्यार्थी सबै कुनै न कुनै समस्याबाट प्रभावित छन् । बेरोजगारीदेखि आर्थिक संकटसम्मका समस्या छन्,’ उनले भने ।
महरले विभाजित कांग्रेसले देशका चुनौती सामना गर्न नसक्ने भन्दै एकताबद्ध कांग्रेस आवश्यक रहेको बताए । खण्डित नेपाली कांग्रेसले सक्दैन, एकताबद्ध र सशक्त कांग्रेसले मात्रै देशका ज्वलन्त समस्याको समाधान गर्न सक्छ,’ उनले भने ।


