विद्यालय बस उखुबारीमा पल्टियो : महोत्तरीमा ५ विद्यार्थीसहित ६ जना घाइते, उपचार जारी

महोत्तरी –  महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना हुँदा पाँच जना विद्यार्थीसहित ६ जना घाइते भएका छन्।

आज बिहान करिब साढे ७ बजे गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडक खण्डमा मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको उखुबारीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी करिब ४० वर्षीय विजय भुजेल घाइते भएका छन्। साथै, गौशाला–११ निवासी महेश्वर महतोका १० वर्षीय प्रतिक कुशवाहा, ८ वर्षीय प्रज्वल कुशवाहा र १३ वर्षीया प्रिति कुशवाहा, गौशाला–९ निवासी शेख जावेदका १३ वर्षीय उमर शेख, तथा गौशाला–११ निवासी रमेश कुमार महतोका ६ वर्षीय आदर्श कुशवाहा पनि घाइते भएका छन्।

प्रहरी चौकी कान्तिबजारबाट खटिएको प्रहरी टोलीले तत्काल घाइतेहरूको उद्धार गरी उपचारका लागि बीके अस्पताल, गौशाला तथा स्थानीय मेडिकलमा पठाएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार सबै घाइतेको उपचार भइरहेको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाइएको छ।

विद्यालयका बालबालिका सवार बस दुर्घटनाले स्थानीय क्षेत्रमा चिन्ता बढाएको छ। दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले प्रहरीले विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु