जनकपुर – सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले आज सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यु आदेश आज राती ७ बजेदेखि हटाइने जनाएको थियो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यु आदेश २०८३ साउन १७ गते राति ७ बजेदेखि हटाइने उल्लेख गरेका थिए ।
गोलबजार क्षेत्रमा पछिल्लो केही दिनदेखि उत्पन्न तनाव र सुरक्षा चुनौतीलाई ध्यानमा राखी प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।
सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यु हटाउने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।


